• ट्रेण्डिङ :

रूकुम पश्चिम र जाजरकोटका विभिन्न स्थानमा ५ सय सशस्त्र प्रहरी परिचालन

रूकुम पश्चिम र जाजरकोटका विभिन्न स्थानमा ५ सय सशस्त्र प्रहरी परिचालन

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


जाजरकोट सदरमुकामस्थित भेरी नगरपालिका-३ मा भूकम्पबाट भत्किएका संरचना भित्रबाट सामान निकाल्न खटिएको सशस्त्र प्रहरीको टोली । तस्बिर : हेमन्त केसी/रासस

रूकुम पश्चिम र जाजरकोटका  विभिन्न स्थानमा ५ सय सशस्त्र प्रहरी   परिचालित गरिएकाे छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु बनाई गएराती गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित करीव ५ सय जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन गरिएको हाे ।

हालसम्म भुकम्पमा परी जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जना गरी १सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै जाजरकोट र पश्चिम रुकुममा भुकम्पमा परेका १ सय ९० जना भन्दा बढिको उद्धार गरिएको छ । भुकम्पमा परेकाहरुको
खोज तथा उद्धारको लागि सम्बन्धित जिल्ला तथा अन्य जिल्लाहरुबाट समेत सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

जाजरकोट जिल्लामा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा.सशस्त्र प्रहरी निरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ७ जना एम्बुलेन्ससहितको मेडिकल टोली, नं. ३२ रक्तकाली गण सुर्खेतबाट ८५ जना, नं. ४२ रिजर्भ गण बाँकेबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित ६० जना, आश्रित गुल्म जाजरकोटबाट ७५ जना र आश्रित गुल्म दैलेखबाट ३५ जना गरी जम्मा २ सय ६२ जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।

त्यस्तै पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा.सशस्त्र प्रहरी नायव उपरीक्षक डा.रोशन पराजुलीसहित ९ जना, नं. २९ ज्वालामाई गण दाङ्गबाट ४० जना, नं. ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ३० जना र आश्रित गुल्म सल्यानबाट ५५ जना समेत जम्मा २ सय २१ जना गरी भुकम्प प्रभावित क्षेत्रमा
करीव ५ सय सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको डिजास्टर रेस्पोन्स सिस्टम (DRS) कन्टेनर दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि पठाई सकिएको छ भने सशस्त्र प्रहरी बल नेपालको Mass Casualty Vehicle (MCV) काठमाडौं, नेपालगंज र सुर्खेतमा तयारी हालतमा राखिएको छ । नेपालगंजमा रहेको MCV ले घाईतेहरुलाई अस्पताल पुर्‍याएको थियो । भुकम्पमा परी घाईतेहरु भर्ना गरिएका अस्पताल नजिकका युनिटहरुमा सशस्त्र प्रहरी बल नेपालको फौज रक्तदानको लागि तयारी हालतमा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरुमा विपद् उद्धारका दक्ष
जनशक्ति समेत परिचालन गरेको छ भने खोज तथा उद्धारको लागि नेपाल एपीएफ अस्पताल तथा उपत्यका स्थित नं. २० विपद् उद्धार उपत्यका गण, नं. २१ निलवाराही गण, नं. २२ गुहेश्वरी गण, नं. २६ गण पश्चिम नवलपरासी, नं. २९ ज्वालामाई गण दाङ्ग, नं. ४१ रिभर्ज गण कपिलवस्तु, नं. ३० बागेश्वरी गण बाँके, नं. ३१ गण बर्दिया, नं. ३४ गण कैलाली र नं. ३५ गण कञ्चनपुरबाट जम्मा ५ सय ६८ जना सशस्त्र प्रहरी बलको विशेष सुरक्षा फौज तयारी अवस्थामा राखिएको छ ।

जसमा विपद् व्यवस्थापन तालिम प्राप्त १ सय २०,  मेडिकल टिम १६ जना, फायरफाईटिङ्ग १० जना समेत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार