कोरीयन भाषा परीक्षा दिने एकसय पचास नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २७ जेठ । नेपाल प्रहरीले अर्काको नाममा परीक्षा दिने १५० नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानका परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले काठमाडौँका २१ विभिन्न कोरीयन भाषा परीक्षा केन्द्रबाट १५० जनाले अर्काको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको जानकारी दिए ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी

कोरियन भाषाको परीक्षाका लागि काठमाडौँमा, ललितपुरमा र पोखरामा गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । कोरीयन भाषा परीक्षाका लागि नेपालबाट ९२ हजार ३५६ जनाले आवेदन दिएका थिए ।

काठमाडौँ परिसरले शनिबार मात्र काठमाडौँबाट ४५ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको थियो । पक्राउ परेका नक्कली परीक्षार्थीलाई मुद्दा चलाउने तयारी भएको परिसरले जनाएको छ ।