विराटनगर । मोरङको बेलबारी नगरपालिका स्थित पूर्व–पश्चिम लोकमार्गमा टिपर, बस र बोलेरो जीप ठोक्किएर
दुर्घटना हुदा तीन जनाकाे मृत्यु भएकाे छ ।
बेलवारी नगरपालिका १ र ३ को सिमानामा शुक्रबार बिहान
पूर्व–पश्चिम लोकमार्गमा टिपर, बस र बोलेरो जीप ठोक्किएर
दुर्घटना हुदा तीन जनाकाे मृत्यु भएकाे हाे ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ । त्यसपछि अनियन्त्रित बनेको टिपरले बसको पछिपछि पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख एसपी नवराज कार्कीका अनुसार दुर्घटना झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको बताए ।
एसपी कार्कीले भने,”दुर्घटनाका ५ जना घाइतेमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने,२ जनाको उपचार जारी छ । मृतक र घाइते सबैको पहिचान खुलिसकेको छ ।”
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको बताए ।
दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका सवारीसाधनलाई प्रहरीले जेसीबीको प्रयोग गरेर सडकबाट हटाएको छ ।
प्रहरीले दुर्घटनालगत्तै टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।