नेकपा सचिवालय बैठक बस्दै

असार ७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दै छ ।
३ बजेपछि सुरु हुने बैठकमा पार्टीको सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जानकारी दिइएको छ ।

बैठकमा पार्टीका जिल्ला ईञ्चार्ज र सहईञ्चार्जहरुको मापदण्ड कसरी तय गर्ने, कस्तो जिम्मेवारी दिने भन्ने सम्बन्धमा नेताहरुबीच छलफल हुनेछ।
यसअघि बसेको बैठकमा नै यसको टुंगो लगाउने भनिएको थियो । तर शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।
नेपाल पक्षले पार्टीमा मन्त्री र सांसद नभएकाहरु पनि योग्य रहेकाले उनीहरुलाई जिल्लामा जिम्मेवारी दिनुपर्ने अडान लिएका कारण बैठक विना निष्कर्ष टुंगिएको हो । निष्कर्ष नआएपछि प्रधानमन्त्रीको युरोप भ्रमणपछि बैठक बस्ने तय भएको थियो ।