प्रहरीले जीवन रक्षाका लागि गोली चलाउँदा पौडेलको मृत्यु : गृहमन्त्री बादल

९ असार काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द नेतृत्वको सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीको मुडभेटका क्रममा मारिएको बताएका छन् ।
राज्य व्यवस्था समितिको आजको बैठकमा उनले असार ५ गते लालबन्दीमा मारिएका पौडेलले प्रहरीलाई गोली हान्न खोजेपछि जवाफि फायरमा मारिएको बताएका हुन् ।
तस्बिर : रासस
“प्रहरीले आफ्नो जीवन रक्षाका लागि गोली चलाउँदा पौडेलको हत्या भएको हो,”–गृहमन्त्री थापाले भने । पौडेल विगतमा चन्दा असुली, वालुवा तस्कर, लुटपाटलगायतका आपराधिक कार्यमा संलग्न रहेको बताइएको छ ।
“अनटेस्ट दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो,”–गृहमन्त्री थापाले भने ।
विप्लव समूहको आतङ्कबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको गृहमन्त्री थापाको भनाई छ । घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको मन्त्री थापाले जानकारी दिए ।
पौडेलको मुठभेडका क्रममा मृत्यु भएको बताएपनि गृहमन्त्री थापाले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार प्रहरीले यसभन्दा पहिला आफ्नो जीवन रक्षाका लागि गोली चलाउँदा ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । तराईमा विभिन्न आपराधिक समूहका नाममा चन्दा उठाउने तथा विभिन्न अपराध गर्नेमाथि प्रहरीले गोली चलाउँदा उनीहरु मारिएका थिए ।
बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले पौडेलको ६÷७ ठाँउमा चोट लागेको र मुडभेठमा भन्दापनि जबरजस्ती मारेको भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेका थिए ।
नेकपाका कतिपय नेताहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहेका मन्त्रीहरु हेरफेर हुन सक्ने बताइरहेका बेला पूर्वमन्त्री शर्माले गृह मन्त्रालयलाई मात्र लक्षित गरी अभिव्यक्ति आएकाले शर्मा गृह मन्त्रालयको दावी गरेको बताएका छन् ।