चेतनामुलक उपन्यास ‘सङ्गत’ विमोचन

काठमाडौँ, १० असार । उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामुलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ ।

लागूऔषध ब्यूरोले अन्तर्रा्ष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्द दिवसको पूर्व सन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो ।

उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री र लागूऔषध ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले काठमाडौँ उपत्यकामा प्राकृतिक लागूऔषधभन्दा औषधीजन्य लागूऔषधको समस्या बढ्दै गएको बताए । “लागूऔषधको दुरुपयोग नियन्त्रणका लागि प्रहरीका साथसाथै स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ,”–उनले भने ।

प्रहरी नायव महानिरीक्षक अमात्यले कुलतमा लागेका व्यक्तिले मात्र नभएर घरपरिवार र समाजले समेत निकै ठूलो मुल्य चुकाउनुपरेको बताए ।

एउटा किशोरले कुलतबाट छुटकारा पाउन गरेको अठोट, त्यसको लागि उसले चालेको कदम र यसबाट उसको जीवनमा आएको परिवर्तनलाई समेटेर उपन्यास लेखिएको उपन्यासकार न्यौपानेले बताए ।

नेपालमा हाल एक लाख ५० हजारभन्दा बढी युवाहरु कुलतमा फँसेको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नेपालमा वार्षिक १२ प्रतिशतको गतिमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी वलले लागूऔषध दुरुपयोग रोक्नका लागि विशेष योगदान पु¥याएका छन् ।

सोही अवसरमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारलाई समेटेर बनाइएको सडक नाटक, नृत्य र ब्याण्ड समेत प्रस्तुत गरिएको थियो ।