काठमाडौं । एक महिनादेखि बन्द रहेको सवारी लाइसेन्सका ट्रायल सेन्टर आइतबार देखि खुल्ने भएका छन् । सरकारी निर्देशिकाअनुसार मापदण्ड नपुगेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले बन्द गरेका ट्रायल सेन्टरहरु आइतबारवाट सञ्चालन गर्न लागएको हो ।
काठमाडौं उपत्यका चार ट्रायल सेन्टरहरु मापदण्ड अनुसारका नभएको उजुरीपछि सतर्कता केन्द्रले मापदण्डअनुसार सञ्चालन गर्न परिपत्र गरेको थियो ।
ट्रायल सेन्टरहरुले मापदण्डअनुसार ट्रायल सेन्टर मर्मत गरेसँगै सतर्कता केन्द्रले पुनः सञ्चालनको अनुमति दिएको हो ।
सतर्कता केन्द्रले गत चैत १२ गते ट्रायल सेन्टरको त्रुटि पहिचान गर्न छानबिन समिति बनाएको थियो । समितिले सवारी चालक परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ बमोजिम नरहेको प्रतिवेदन दिएको थियो । यातायात व्यवस्था कार्यालयहरुले आगामी आइतबारदेखि ट्रायल परीक्षा सञ्चालन गर्ने जनाएका छन् ।
ट्रायल सेन्टरहरु बन्द हुदा हजारौ नागरिकहरुलाई समस्या भएको थियो भने विदेश जाने नागरिकहरुलाई समेत तनावको अबस्था सृजना भएको थियो । उपत्यकाका ट्रायल सेन्टरहरु बन्द हुदा व्यवसायीहरुलाई समेत लाखौं घाटा र बैंकको व्याजमा समस्या आएको बताएका छन् । काठमाण्डौं उपत्यकामा भेहिकल ऐकेडेमी एण्ड रिर्सच सेन्टर लगायत ४ ट्रायल सेन्टरमा लिखित तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन हुदै आएका छन् ।
