काठमाडौं। पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम महायज्ञ जारी छ ।मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउन १ गतेवाट जारी कोटी होम महायज्ञ १ महिना चल्ने छ ।
मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ । महायज्ञको पूर्वसन्ध्यामा कलश शोभा यात्रा गरिएको थियो ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको हो । मानवसेवा फाउन्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् ।

स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जन बढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् ।
हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको मानवसेवा फाउन्डेसनले जनाएको छ । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ ।यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
तस्विरहरु हेर्नुहोस :

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त