• ट्रेण्डिङ :

चुनढुंगा प्रकरण : राजमो अर्घाखाँचीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन, निर्दोषलाई नफसाउन चेतावनी

चुनढुंगा प्रकरण : राजमो अर्घाखाँचीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन, निर्दोषलाई नफसाउन चेतावनी

cnewsnepal

बुधबार, भाद्र ५ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


अर्घाखाँचीको चुनढुंगा प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भन्दै राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले सरकारलाई सचेत गराएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै राजमोले उक्त प्रकरणमा निर्दोष व्यक्तिलाई फसाउन खोजिएकोतर्फ ध्यानाकर्षण गराएको हो ।

भूमिकास्थान नगरपालिका वडा नं ९ मा चुनढुंगा उत्खनन्का कारण वातावरण र स्थानीय जनसमुदायलाई असर पर्ने भएपछि राजमोले त्यसको विरोध गर्दै आएको थियो ।

तर, चुनढुङ्गा उत्खनन् कम्पनी सञ्चालनका लागि अनुमति लिने नाममा कम्पनीक प्रतिनिधिले भूमिकास्थान नगरपालिकाको लेटरप्याड तथा नगरप्रमुखको हस्ताक्षर कीर्ते गरेको भटिएपछि राजमोले त्यसप्रति आपत्ति जनाएको थियो ।

सो प्रकरणमा हाल कम्पनीका एक व्यक्ति नवाव अलि खान प्रहरी हिरासतमा छन् ।

चुनढुंगा कम्पनीले विभिन्न राजनीतिक दलका नेताहरूलाई प्रभावमा पारी निर्दोष व्यक्तिलाई फसाउने र पुनः चुनढुंगा उत्खनन् गर्ने षडयन्त्र गरेको भन्दै राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो । साथै, राजमोले निर्दोष व्यक्ति फसाइए आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

बुधबार राजमोका केन्द्रीय सदस्य एवम् भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । राजमो अर्घाखाँचीले समसामयिक विषयलाई समेटेर प्रधानमन्त्रीलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

भेटमा निमित्त प्रजिअ पाध्यसहित, जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका डीएसपी प्रतिकसिंह राठोर, जिल्ला सरकारी वकिल विष्णुप्रसाद आचार्य, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता रहेको थियो ।

भेटका अवसरमा केन्द्रीय सदस्य थापाले भन्नुभयो, ‘चुनढुंगा प्रकरणमा राजनीतिक चलखेल गरेर हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने षडयन्त्र भइरहेको हामीले बुझेका छौँ । प्रशासनले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यदी निर्दोष फसाउन काम भए राजमो चुप लागेर बस्दैन ।’

सो अवसरमा स्थानीय प्रशासनसँग जिल्लाको विकास निर्माण र शान्तिसुरक्षा लगायतका विविभिन्न विषयमा छलफल भएको राजमो अर्घाखाँचीले जनाएको छ ।

प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य सागर केसी, लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यस्तो छ ज्ञापनपत्र

  

 

प्रतिक्रिया
सम्बन्धित समाचार