८ बैशाख,कैलाली । कैलालीको टिकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको घना जङ्गलमा एक वयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ।
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार, बाघको अगाडिपट्टि चोट देखिएको छ। बाघको तौल करिब १८० किलोग्राम, लम्बाइ १०३ इन्च, चौडाइ ४० इन्च र गोलाइ ५८ इन्च रहेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट आहारविहारका लागि सामुदायिक वनमा पुगेको बाघ जंगलको भित्री भागमा मृत भेटिएको हो। शव भेटिएपछि मात्र बाघ मरेको पुष्टि गरिएको जनाइएको छ।
प्रारम्भिक अनुमानअनुसार, उक्त पोथी बाघ भाले बाघसँगको संघर्षमा परेर मरेको हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुष महर्जन नेतृत्वको प्राविधिक टोली घटनास्थलमा पुगेको छ। मृत बाघको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ।