नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ।
वि.सं. २०३५ सालको जेठमा नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्ति पाएका थापाको कार्यकाल नेपाल प्रहरीको इतिहासमै स्मरणीय मानिन्छ।
उनको नेतृत्वमा नेपाल प्रहरीले आधुनिकता, अनुशासन र व्यावसायिकताको नयाँ युगमा प्रवेश गरेको थियो। प्रहरी संगठनलाई जनमुखी बनाउने प्रयासस्वरूप उनले पर्यटक प्रहरीको स्थापना गरे, जसले देशमा आउने पर्यटकहरूको सुरक्षा र सहजीकरणमा ठूलो योगदान पुर्यायो।
त्यस्तै, प्रहरीको विशेष कार्य क्षमतामा अभिवृद्धि गर्न उनले कमाण्डो तालिम सुरु गराएका थिए, जसले आपतकालीन अवस्था र विशेष सुरक्षा अपरेशनमा खटिने प्रहरीको दक्षता बढायो।
थापाको कार्यकालमा प्रहरी संगठनभित्र संरचनात्मक सुदृढीकरणका उपायहरू पनि देखिए। उनले प्रहरी पहरा गणको गठन गरी प्रहरीको परिचालन क्षमता बलियो बनाए, साथै प्रहरी नेतृत्वको संस्थागत स्थायित्वका लागि महानिरीक्षकको सरकारी निवासको निर्माणसमेत सुरु गराए।
उनी वि.सं. २०२४ मा प्रहरी उपरीक्षक (एसपी) का रूपमा जापानको क्योटोमा आयोजित इन्टरपोलको ३६औँ महासभामा सहभागी भएका थिए। उक्त अवसरमा नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्रका रूपमा मान्यता पाउन सफल भएको थियो, जसमा थापाको प्रमुख भूमिका थियो।
प्रशिक्षण र व्यवस्थापनमा समेत सक्रिय रहेका थापा वि.सं. २०२४ चैतदेखि २०२८ फागुनसम्म तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) का कमान्डेन्टको रूपमा कार्यरत थिए। त्यसअघिपछि वि.सं. २०३३ देखि २०३५ सम्म पश्चिम क्षेत्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) भएर नेपालगन्जमा कार्य गर्दै उनले जनमैत्री प्रहरी अवधारणालाई व्यवहारमा उतारे।
उनको योगदानको कदर स्वरूप सन् २०१३ मा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।