• ट्रेण्डिङ :

काठमाडौं पश्चिममा स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने समाजसेवी मानदास महर्जनको निधन

काठमाडौं पश्चिममा स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने समाजसेवी मानदास महर्जनको निधन

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


 

२३ बैशाख,काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रलाई जनस्वास्थ्य सेवा तथा सामुदायिक विकासमा क्रान्तिकारी परिवर्तन दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पुराना स्वास्थ्यकर्मी, समाजसेवी तथा शिक्षासेवी मानदास महर्जनको ७६ वर्षको उमेरमा निधन भएको छ।

पञ्चायती शासन व्यवस्थामा दुई कार्यकाल प्रधानपञ्च बनेर सेवा गरेका महर्जन लामो समय बलम्बु माविको प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए।

काठमाडौंको पश्चिमी भेगमा स्वास्थ्य सेवा अभावको समयमा उनले कालिमाटीदेखि पश्चिमसम्म कुनै पनि अस्पताल नभएको बेलामा बिरामीको  जाँच, औषधि वितरण तथा उपचारको व्यवस्था गरेर जनकल्याणकारी कार्यको उदाहरणीय इतिहास रचेका थिए।

उनले गरिब, विपन्न तथा उपेक्षित समुदायलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्न निजी प्रयासमा समुदाय स्तरमै निःशुल्क उपचार सेवा सञ्चालन गरेका थिए। त्यसबाहेक, शिक्षा र सामाजिक विकासमा पनि उनको योगदान उल्लेखनीय रह्यो।

तत्कालीन समयमा स्वास्थ्य जाँच गर्ने र स्थानीयले डाक्टर मानदास उपनामले समेत परिचित छन् ।

लोकतान्त्रिक आन्दोलनपछि नेपाली कांग्रेसमा सक्रिय रहेर उनले पार्टीको जिल्ला कार्यसमिति सहसचिव, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिका रूपमा समेत जिम्मेवारी वहन गरे। दीर्घकालीन बिरामी परेका महर्जनको उपचारका क्रममा महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा निधन भएको हो।

उनको निधनप्रति नेपाली कांग्रेस चन्द्रागिरि नगर सभापति राजेन्द्र विक्रम बानियाँले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। अन्तिम विदाइमा नेपाली कांग्रेसका पूर्व सांसद ध्यानगोविन्द रजितले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

जनस्वास्थ्य, शिक्षा र समाजसेवाको क्षेत्रमा अनुकरणीय योगदान दिएका महर्जनको निधनले चन्द्रागिरि क्षेत्रले एक सच्चा जनसेवक गुमाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार