• ट्रेण्डिङ :

नेपाल आएका पाकिस्तानी टोली सैनिक प्रतिनिधिमण्डल नभई प्रशिक्षार्थी

नेपाल आएका पाकिस्तानी टोली सैनिक प्रतिनिधिमण्डल नभई प्रशिक्षार्थी

cnewsnepal

बिहिबार, बैशाख २५ २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं । प्रतिनिधिसभामा कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले दिएको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ ।

साउदले बुधबारको प्रतिनिधिसभा बैठकमा भारत-पाकिस्तान तनावको बीचमा पाकिस्तानी सैनिक प्रतिनिधिमण्डल नेपाल आएको भन्दै सरकारलाई भ्रमण रोक्नुपर्ने बताएका थिए ।

साउदकै अभिव्यक्तिपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि त्यही विषयमा कुरा उठाएका थिए । यसले धेरैलाई पाकिस्तानबाट सैनिक प्रतिनिधिमण्डल नेपाल आएको भ्रम सिर्जना गरेको थियो । तर, वास्तविकता फरक रहेको पुष्टि भएको छ ।

पाकिस्तानी दूतावाससँग गरिएको सम्पर्कपछि स्पष्ट भएको छ कि नेपाल आएका पाकिस्तानीहरू सैनिक प्रतिनिधिमण्डल नभई पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका प्रशिक्षार्थी विद्यार्थी हुन् । ती प्रशिक्षार्थीहरू नियमित तालिमको क्रममा नेपाल आएका हुन् । नेपाली सेनाको व्यवस्थापनमा नेपाल सरकारको स्वीकृतिसहित ११ जना पाकिस्तानी र १ जना अमेरिकी सैनिक शिक्षार्थी अहिले नेपालमा छन्, जो शुक्रबार फिर्ता हुने तालिका रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार यो भ्रमण कमाण्ड तथा स्टाफ तालिमअन्तर्गतको नियमित कार्यक्रम हो । नेपाली सेनाले विभिन्न देशका प्रशिक्षार्थीहरूलाई आफ्नो तालिम कार्यक्रममा सहभागी गराउने गर्दछ, र यो भ्रमण पनि सोही प्रक्रियाअन्तर्गत रहेको हो ।

केसीले हाल नेपाल आएका प्रशिक्षार्थीहरू कर्णेल तहका रहेका र उनीहरूको सम्पूर्ण व्यवस्थापन नेपाली सेनाले गर्ने जानकारी दिए । उनले यो भ्रमण भारत-पाकिस्तान तनावसँग कुनै सम्बन्ध नभएको प्रष्ट पारेका छन् । साथै, यो भ्रमण तीन महिनाअघि नै योजना गरिएको थियो ।

नेपाल र पाकिस्तानबीच लामो समयदेखि सैनिक तालिम आदान-प्रदान हुँदै आएको छ । पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीमा नेपाली सैनिक अधिकारीहरू पनि तालिम लिन जाने गरेका छन्, जसले उनीहरूको सैनिक वृत्ति विकासमा सहयोग पुर्‍याउने गरेको छ । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल र गौरवशम्सेर जबरा पनि सोही विश्वविद्यालयका पूर्वशिक्षार्थी हुन् ।

शिक्षार्थीहरूको टोली वैशाख २१ गते नेपाल आएको थियो र उनीहरूको भ्रमण तय कार्यक्रमअनुसार सञ्चालन भइरहेको छ ।

तालिममा काे काे सहभागी छन् त ?

नेपालमा भ्रमणमा आएका पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटी (NDU) का प्रशिक्षार्थीहरूको तालिका

नेता:

  1. एयर कमोडोर साद मनसूर अन्सारी (पाकिस्तान)

समूह नेता:
2. एम्बेसी एयर फोर्स कमान्डर क़मर अब्बास खोखर (पाकिस्तान) – FSP/NDU

उपसमूह नेता:
3. कमोडोर मोहम्मद इरफान अवान (पाकिस्तानी नौसेना)

प्रतिभागीहरू:
4. कमोडोर शफिक-उर-रहमान (पाकिस्तानी नौसेना)
5. लेफ्टिनेन्ट कर्नेल अब्दुल रहमान मक्की (पाकिस्तानी सेना)
6. लेफ्टिनेन्ट कर्नेल लियाकत अली (पाकिस्तानी सेना)
7. लेफ्टिनेन्ट कर्नेल कलीम उल्लाह (पाकिस्तानी सेना)
8. लेफ्टिनेन्ट कर्नेल मोहम्मद अज़हर मन्जूर (पाकिस्तानी सेना)
9. लेफ्टिनेन्ट कर्नेल मोनिब रियाज (पाकिस्तानी सेना)
10. विंग कमान्डर मोनिब रियाज र मोहम्मद बिलाल अहमद खान (पाकिस्तानी वायुसेना)
11. मिस्टर मोहम्मद यासिर जान बलोच (सिन्ध सरकार, पाकिस्तान)
12. लेफ्टिनेन्ट कर्नेल विलियम हायर लभ (अमेरिकी सेना, संयुक्त राज्य अमेरिका)

 

प्रतिक्रिया
सम्बन्धित समाचार