• ट्रेण्डिङ :

जितपुर सिमरामा महोत्सवमा शान्ति सुरक्षा चुनौती: डिएसपी वाइबाको हस्तक्षेप (भिडियाे सहित)

जितपुर सिमरामा महोत्सवमा शान्ति सुरक्षा चुनौती: डिएसपी वाइबाको हस्तक्षेप (भिडियाे सहित)

cnewsnepal

शनिबार, जेष्ठ ३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


४ जेठ,बारा । जितपुर सिमरामा जारी व्यापारी तथा सांस्कृतिक महोत्सवमा शान्ति सुरक्षामा चुनौती देखिएपछि डिएसपी शुभद्रा वाइबाले हस्तक्षेप गरेकी छन्।

महोत्सव आयोजकले जिल्ला प्रशासन कार्यालय (C.D.O) बाट बिहान १० बजे देखि साँझ ७ बजेसम्म मात्र महोत्सव सञ्चालनको अनुमति पाए पनि शनिबार राति ९ बजेपछि समेत टिकट बिक्री भइरहेको थियो। भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिँदै कार्यक्रम बन्द गराएकी हुन्।

आयोजकले जिल्ला प्रहरी कार्यालय बाराका एसपीसँग एक घण्टा थप अनुमति मागेर साँझ ८ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने भनेका थिए तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भीडभाड र झगडाको सम्भावना बढाएको थियो। स्थानीय प्रहरीलाई ठूलो झडप हुने सूचना प्राप्त भएपछि डिएसपी वाइबाले शान्ति सुरक्षालाई प्राथमिकता दिँदै माइक नियन्त्रणमा लिएर कार्यक्रम रोकेकी थिइन्। उनले स्पिकरको तार छुटाएर कार्यक्रम पूर्ण रूपमा बन्द गराएकी थिइन्।

यस घटनापछि स्थानीय बासिन्दाले डिएसपी वाइबाको कदमको प्रशंसा गर्दै शान्ति सुरक्षालाई सुनिश्चित गरेकोमा बधाई र धन्यवाद व्यक्त गरेका छन्। तराईका जिल्ला विशेष गरी बारालाई संवेदनशील मानिन्छ, जहाँ यस्ता भीडभाडमा शान्ति सुरक्षामा चुनौती आउन सक्छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको विषयमा गम्भीर हुनु जरुरी छ। व्यापारी गतिविधि भन्दा पनि मेला महोत्सव राति अबेरसम्म नाचगान, मदिरा सेवन लगायतका कारण अप्रिय घटना हुने जोखिम रहन्छ। स्थानीयले यस्ता कार्यक्रमहरूमा सुरक्षाको उचित प्रबन्ध गर्नुपर्ने सल्लाह र सुझाव दिएका छन्।

प्रहरीले समयमा नै हुन सक्ने दुर्घटनालाई रोकथाम गर्नु ठूलो कुरा हो। व्यापार, मेला महोत्सव भनेर अनुमति लिने तर त्यसलाई रात्रीकालीन नाचगानमा प्राथमिकता दिने चलनले शान्ति व्यवस्थामा खलल पुग्छ। यस्तो प्रकृतिका कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिने बेलामा स्क्रिनिङ गरेर मात्रै स्वीकृति दिनुपर्ने व्यवस्था गर्नुपर्ने स्थानीयको सुझाव छ।

भिडियो हेर्नुहाेस ।

https://www.facebook.com/share/v/1VHGX1VfRf/

प्रतिक्रिया
सम्बन्धित समाचार