६ जेठ,काठमाडौं । नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) अन्तर्गत सडक सुधार कार्यका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्डको नागढुङ्गा पिप्लामोड (कि.मि. ०,००० देखि १.८०० सम्म) आंशिक बन्द हुने भएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मिति २०८२ जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजे देखि दिउँसो ३:०० बजेसम्म सवारी साधन रोकिने जनाइएको छ।
निर्माण कार्यलाई सहज बनाउन काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधनहरू नागढुङ्गा चेकपोस्टमा तथा नौबिसेबाट काठमाडौंतर्फ आउने सवारी साधनहरू खानीखोला बजार (कि.मि. १०–५००) मा रोकिनेछन्। रोकिएको समयमा साना तथा मझौला सवारीसाधनहरूका लागि वैकल्पिक मार्गका रूपमा सीतापाईला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
सवारी व्यवस्थापनका क्रममा हरेक सवारी चालकले लेन अनुशासनको कडाइका साथ पालना गर्नुपर्नेछ र लामबद्ध सवारीको अवस्थालाई ध्यानमा राखी जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ। दमकल, एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधन भने निर्वाध रूपमा संचालन हुनेछन्।
सडक सुधार कार्यको क्रममा पर्न सक्ने असुविधाप्रति नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले सबै सडक प्रयोगकर्तासँग क्षमायाचना गरेको छ।
