• ट्रेण्डिङ :

यातायात बन्द कार्यक्रम स्थगन, संघर्ष समितिले जेठ २१ मा थप योजनाबारे पत्रकार सम्मेलन गर्ने

यातायात बन्द कार्यक्रम स्थगन, संघर्ष समितिले जेठ २१ मा थप योजनाबारे पत्रकार सम्मेलन गर्ने

cnewsnepal

मंगलबार, जेष्ठ २० २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२० जेठ,काठमाडौं । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सार्वजनिक सवारीसाधन बन्द लगायतका सबै आन्दोलनात्मक कार्यक्रमहरू तत्कालका लागि स्थगन गरेको छ।

जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र जेठ १९ गतेदेखि देशव्यापी रूपमा सुरु गरिएको आन्दोलन सफलतापूर्वक सम्पन्न गराएको भन्दै समितिले सबै यातायात व्यवसायी र मजदुरप्रति आभार प्रकट गरेको छ।

समितिले आज जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका कारण सेवाबाट बञ्चित भएका यात्रु तथा उपभोक्तासमक्ष क्षमा याचना गर्दै, विभिन्न मागहरू सम्बोधन गर्न पहल गर्ने उच्चस्तरीय नेताहरू—प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, गृहमन्त्री रमेश लेखक, यातायातमन्त्री देवेन्द्र दाहाल लगायतप्रति आभार व्यक्त गरिएको छ।

सरकार र संघर्ष समितिबीच जेठ १९ गते राति भएको छलफलबाट ६ बुँदे निर्णयमा सहमति जुटेको जनाइएको छ। त्यसअनुसार, गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न संघीय सरकारमार्फत सिफारिस गरिएको थियो। उक्त सिफारिस गण्डकी प्रदेश सरकारले ग्रहण गरी नियमावली स्थगनको निर्णय गरेपछि समितिले आन्दोलन फिर्ता लिएको हो।

विज्ञप्तिमा सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै अब भविष्यमा यस्ता आन्दोलन नदोहरिने गरी सरकारले गम्भीरता देखाउने अपेक्षा गरिएको छ। साथै, समितिले आगामी योजना र कार्यक्रमबारे जेठ २१ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ।

प्रेस विज्ञप्तिमा विभिन्न यातायात व्यवसायी तथा मजदुर संघसंस्थाका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्, जसमा सार्वजनिक यातायात केन्द्रीय महासंघका हिरालाल वैद्य, नेपाल ट्रक यातायात व्यवसायी महासंघका भीमज्वाला राई, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका दिपक के.सी, अखिल नेपाल यातायात मजदुर संघका विजय स्वर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अजय पान, ढुवानी व्यवसायी महासंघ नेपालका अरुणकुमार धर्मराज भण्डारी र एकीकृत यातायात मजदुर संगठनका रंवि के.सी. लगायतको उपस्थिति छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार