२० जेठ,सर्लाही । सर्लाहीको फुलजोरमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान मीनबहादुर दानीको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार दिउँसो ईश्वरपुर नगरपालिका–५ स्थित फुलजोर चोकमा पूर्वतर्फ जाँदै गरेको ना१क ८५२० नम्बरको टिपरले भारतीय नम्बर प्लेट बीआर ०१ एफजे ६९६१ भएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
दानी नेपाल प्रहरीको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए। उनी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ निवासी हुन् भने हाल सर्लाहीको मलंगवा नगरपालिका–३ मा मुस्लिम आयोगका माननीय सदस्य मोहमद सम्सुल हकका व्यक्तिगत सुरक्षामा खटिएका थिए।
गम्भीर अवस्थामा रहेका दानीलाई प्रारम्भिक उपचारपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेज पठाइएको थियो। त्यहाँबाट बारास्थित एलएस न्युरो अस्पताल लैजाँदै गर्दा पनि उपचार जारी थियो। तर साँझ करिब सवा ५ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
दुर्घटनामा संलग्न टिपर चालक ३६ वर्षीय नारायण दत्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रेष्ठ सर्लाहीकै लालबन्दी नगरपालिका–१७ का हुन्। प्रारम्भिक जाँचमा उनले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।