२३ जेठ,काठमाडौं ।काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिकै माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर दर्शनका लागि आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उकालोमा ब्रेक फेल भएर सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार यात्रुहरु सामान्य घाइते भएका हुन्।
दुर्घटनामा परेका सबैलाई तत्काल उद्धार गरी जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। माइक्रोबसका चालकसहित सवारीसाधन घटनास्थलमै रहेका छन् भने बस निकाल्ने काम भइरहेको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा अधिकांश काभ्रेको बनेपा नगरपालिका–१० निवासी छन्। घाइतेहरूको विवरण यस प्रकार छ:
१. सुनिता खड्का, ३८ वर्ष – बाँया खुट्टामा सामान्य चोट।
२. सारदा रावत, ३८ वर्ष – बाँया हातको बुढी औंलामा चोट।
३. अनिता थापा, ३७ वर्ष – बाँया खुट्टा र ढाडमा चोट।
४. कान्छी खड्का, ६० वर्ष – दायाँ साइडको कोखा दुखेको तर बाहिरी चोट नदेखिएको।
५. राम शोभा थापा, ४५ वर्ष – टाउकोमा सामान्य चोट।
६. शान्ता खत्री, ४५ वर्ष – बाँया हातमा चोट।
७. पार्वती काफ्ले, ७० वर्ष – ओठ र बाँया खुट्टामा सामान्य चोट।
८. लक्ष्मी खड्का, ३७ वर्ष – टाउकोमा सामान्य चोट।
दुर्घटनाको खबर दिउँसो १:०५ बजे प्राप्त भएलगत्तै बालाजु प्रहरी वृत्तका प्र.ब.ना.नि. विजय कुमार शाहीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो। बालाजु प्रहरी वृत्तबाट उक्त स्थान करिब १० किलोमिटर उत्तरतर्फ पर्छ।
हाल घटनास्थलको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।