• ट्रेण्डिङ :

रसुवामा बाढीको कहर: मितेरी पुल भाँचियो, १८ जना सम्पर्कविहीन

रसुवामा बाढीको कहर: मितेरी पुल भाँचियो, १८ जना सम्पर्कविहीन

cnewsnepal

मंगलबार, असार २४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२४ असार,रसुवा । अविरल वर्षासँगै रसुवा जिल्लाका विभिन्न स्थानमा आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्‍याउनुका साथै जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ।

नेपाल–चीन सिमानाका रसुवागढी क्षेत्रमा बाढीले मितेरी पुल भाँचिएर बगाएपछि दुई देशबीचको सिधा व्यापार मार्ग अवरुद्ध भएको छ।

भोटेकोशी नदीमा आएको बाढीले टिमुरेस्थित भन्सार यार्ड डुबाउँदा यार्डमा काम गर्दै आएका ९ जना नेपाली कामदार, ६ जना चिनियाँ नागरिक, र ३ जना सुरक्षाकर्मी गरी १८ जना सम्पर्कविहीन भएका छन्। उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा MI-17 सेनाको हेलिकप्टरसमेत प्रयोग गरिएको छ।

भारी पूर्वाधार क्षति

  • नेपाल–चीन सिमाना जोड्ने मितेरी पुल भाँचिएर बगिएको।
  • टिमुरे स्थित EV चार्जिङ स्टेशनमा ७–८ वटा इलेक्ट्रिक गाडी बगाएको।
  • भन्सार कार्यालय यार्डमा रहेका ८–९ वटा लोड कन्टेनरहरू बगाएको।
  • रसुवागढी जलविद्युत आयोजनाको ड्याममा गम्भीर क्षति पुगेको।
  • स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा बाढी र पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध।

उद्धार प्रयास जारी

  • सशस्त्र प्रहरी बल बीओपी टिमुरेबाट १३ जनाको टोली सप्रनि प्रकाश पाण्डेको नेतृत्वमा खटिएको।
  • नं. २० गुल्म रसुवाबाट सप्रनि रविन्द्र दाहालको कमाण्डमा २१ जनाको उद्धार टोली घटनास्थलतर्फ पैदल गइरहेको छ (७ जना विपद् व्यवस्थापन तालिम प्राप्त)।
  • उद्धार प्रयास कठिन बन्दै गएको छ, किनभने नदीको बहाव अझै बढ्दो छ।

उत्तरगंगा गापा १ मैलुङमा अर्को झन ठूलो क्षति

रसुवाको उत्तरगंगा गाउँपालिका–१ मैलुङस्थित गल्छी–बेत्रावती सडकखण्डमा रहेको त्रिशूली खोलाको बेली ब्रिज पनि बाढीले बगाएको छ। यसले राजधानी काठमाडौँसँग जोडिने मुख्य उत्तरी नाका मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

स्थानीयहरूलाई सतर्कता अपनाउन आग्रह

प्रशासन र सुरक्षा निकायले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, सुरक्षित स्थानमा सर्न र उद्धार टोलीलाई सहकार्य गर्न आह्वान गरेको छ। जोखिमयुक्त स्थानमा रहेका हातहतियार तथा सामग्रीहरू सुरक्षित स्थानतर्फ सार्ने कार्य समेत भइरहेको छ।

रसुवा जिल्लामा हाल देखा परेको यो प्राकृतिक विपद्ले मुलुकको अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा, यातायात तथा जनसुरक्षा प्रणालीमा गम्भीर असर पुर्‍याएको छ। उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन मौसम, प्रविधि र संस्थागत समन्वयको उच्च खाँचो देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार