• ट्रेण्डिङ :

संघ संस्था ऐन २०८२ विरुद्ध युवा गैरसरकारी संस्था महासंघको आपत्ति, दबाबमूलक कार्यक्रम गर्ने चेतावनी

संघ संस्था ऐन २०८२ विरुद्ध युवा गैरसरकारी संस्था महासंघको आपत्ति, दबाबमूलक कार्यक्रम गर्ने चेतावनी

cnewsnepal

आइतबार, भाद्र ८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


८ भदौ,काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपाल (YNF) ले संघ संस्था ऐन २०८२ को मस्यौदामा रहेको प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष नारायण गिरी र महासचिव रविन्द्र लामिछानेद्वारा आइतबार जारी विज्ञप्तिमा नेपाल सरकारले सरोकारवालाको सहभागिता विना गृह मन्त्रालयको नेतृत्वमा संघ–संस्था दर्ता, नियमन र व्यवस्थापनका नाममा ल्याएको विधेयक असान्दर्भिक र अस्वाभाविक रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले सुनिश्चित गरेको स्वतन्त्रता र मौलिक अधिकारको अवमूल्यन गर्ने गरी सरकारले अघि बढाएको विधेयक पञ्चायती शासन शैलीभन्दा पनि कठोर देखिन्छ । नागरिक संस्थाको दर्ता, नविकरण, अनुगमन र व्यवस्थापन आवश्यक भए पनि गृह मन्त्रालयको नेतृत्वमा नभई स्वतन्त्र निकायमार्फत् हुनुपर्ने हाम्रो जोडदार माग छ ।”

महासंघले हालै भाद्र ३ गते सार्वजनिक गरिएको मस्यौदा नागरिक संस्थाको योगदान र संविधानले दिएको स्वतन्त्रताको भावनाविपरीत रहेको भन्दै यसको पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । साथै, दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको भन्दै सम्पूर्ण नागरिक समाजलाई यसमा ऐक्यवद्धता जनाउन पनि अनुरोध गरिएको छ ।

महासंघले संविधानको धारा १७(२)(घ), मानव अधिकारको सार्वभौम घोषणा १९४८ को धारा २० र नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९८६ लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई समेत सरकारलाई स्मरण गराएको छ ।

प्रस्तावित ऐन नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालको भएकाले प्रतिनिधि सभा, राष्ट्रिय सभा लगायत जिम्मेवार राजनीतिक दल र सरोकारवालाले यसको विरुद्धमा आवाज उठाउनुपर्ने महासंघको माग छ ।

हेर्नुहाेस विज्ञप्ति 

 

प्रतिक्रिया
सम्बन्धित समाचार