१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ३३औँमहानिरीक्षक (आईजिपी ) नियुक्तिको मिति नजिकिँदै गर्दा संगठनभित्र र बाहिरबाट एआईजी दानबहादुर कार्कीविरुद्ध योजनाबद्ध षड्यन्त्र सुरु भएको संकेत देखिएको छ।
भदौ २४ गतेको जेन जि आन्दोलनका कारण उत्पन्न जटिल परिस्थितिमा अन्य एआईजीहरूले जिम्मेवारी लिन अस्वीकार गरेपछि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिने साहसी निर्णय लिएका कार्की अहिले आफ्नै प्रतिस्पर्धी र बिचौलियाहरूको निशानामा परेका छन्।
स्रोतका अनुसार हालका एआईजीहरूमध्ये बरियतामा र कार्यसम्पादनमा अग्रस्थानमा रहेका कार्की सरकारका दृष्टिमा ३३औँ महानिरीक्षकका लागि सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन्। यही सम्भावनाले उनका प्रतिद्वन्द्वीहरू र केही स्वार्थी बिचौलियाहरूलाई असहज बनाएको छ।
त्यसपछि उनीहरू कार्कीको बढुवा रोक्नका लागि विभिन्न माध्यममार्फत भ्रम सिर्जना गर्ने, नकारात्मक समाचार प्रकाशित गराउने र त्यस्ता सामग्रीहरूलाई सामाजिक सञ्जालमा बुस्ट गर्ने गतिविधि गर्दै आएको खुलेको छ।
यसअघि नियुक्त भएका ३०औँ, ३१औँ र ३२औँ महानिरीक्षकहरू बरियता र कार्यसम्पादनकै आधारमा पदोन्नत भएका उदाहरणलाई हेर्दा दानबहादुर कार्की स्वाभाविक रूपमा प्रमुख दावेदार हुन्। तर, उनको बढ्दो सम्भावनासँगै उनलाई विवादित देखाउने योजनाबद्ध प्रयास तीव्र रूपमा अघि बढिरहेको देखिन्छ।
सुरक्षा निकायका एक वरिष्ठ अधिकारीका अनुसार, “कार्की जस्तो इमानदार, दृढ र निर्णय क्षमतायुक्त अधिकारीले संगठनमा सुधार ल्याउने सम्भावना उच्च छ, तर यही गुण केही स्वार्थी समूहलाई मन परेको छैन।”