१८ पुस,धनुषा/बारा । तराई क्षेत्र सधैं खुला सीमा, तस्करी, लागुऔषध कारोबार र संगठित अपराधको चुनौतीसँग जुध्दै आएको छ। यिनै चुनौतीका बीच धनुषा र बारा जिल्लामा पछिल्लो समय प्रहरीको भूमिका र प्रभावकारिताले नयाँ सन्देश दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड सम्हालेका एसपी रूगँम बहादुर कुँवर र बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरको नेतृत्वपछि दुवै जिल्लाको सुरक्षा अवस्थामै उल्लेखनीय सुधार देखिएको छ।
नेतृत्व परिवर्तनसँगै रणनीति परिवर्तन
स्रोतका अनुसार दुवै एसपीले जिम्मेवारी सम्हाल्नेबित्तिकै पहिलो प्राथमिकता सूचना संकलन प्रणाली मजबुत बनाउने, फिल्ड प्रहरीलाई सक्रिय बनाउने र सीमावर्ती अपराधमा लक्षित कारबाहीलाई दिएका थिए। यसअघि कमजोर मानिँदै आएको सीमाक्षेत्र अब प्रहरीको विशेष निगरानीमा छ। खुला सीमा नाका, वैकल्पिक बाटो तथा ग्रामीण भेगमा हुने अवैध गतिविधिमा कडा अनुगमन बढाइएको छ।
धनुषा: लागुऔषध र संगठित अपराधमाथि कडा प्रहार
धनुषा जिल्ला लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुँदै आएको तथ्य कुनै नयाँ होइन। तर एसपी रूगँम कुँवर आएपछि यो प्रवृत्तिमा ब्रेक लागेको प्रहरी अभिलेखले देखाउँछ। रूगम कुवँर अपराध अनुसन्धानमा नेपाल प्रहरीकै काविल अनि दक्ष अनुसन्धान अधिकृतका रूपमा स्थापित छन् । लामाे समय अपराध महाशाखा र सिआईभीमा काम गरेकाे र जघन्य प्रकृतिका घटनाहरूलाई पनि सरल र सहज प्रकारले काम गर्ने अधिकृत हुन् ।
धनुषा र बारा प्रहरीले विशेष अपरेसन, सादा पोसाकमा प्रहरी परिचालन, गोप्य सूचनाका आधारमा गरिएको छापामार कारबाहीले लागुऔषध कारोबारमा संलग्न गिरोहहरू तितरबितर भएका छन्।
राजमार्ग, बसपार्क, होटल तथा सीमावर्ती बस्तीहरूलाई उच्च जोखिम क्षेत्र घोषणा गरी नियमित चेकजाँच गर्दा ठूलो मात्रामा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। यसले धनुषालाई सुरक्षित जिल्ला बनाउने दिशामा ठोस आधार तयार भएको छ ।
बारा: सीमा नाकामा कडा निगरानी, तस्करी नियन्त्रण
बारा जिल्ला भारतसँग जोडिएको खुला सीमाका कारण तस्करीको मुख्य केन्द्र मानिन्थ्यो। इन्धन, खाद्यान्न, उपभोग्य वस्तु र लागूऔषधको अवैध ओसारपसार यहाँको दीर्घकालीन समस्या थियो।
तर एसपी नरेन्द्र कुँवरको नेतृत्वपछि सीमा नाकामा २४ सै घण्टा निगरानी, आकस्मिक चेकजाँच र संयुक्त सुरक्षा रणनीति लागू गरिएको छ।
प्रहरीले भन्सार, सशस्त्र प्रहरी र स्थानीय निकायसँग समन्वय गर्दै तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। यस क्रममा करोडौं मूल्य बराबरका अवैध सामग्री बरामद हुनु, तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ पर्नु र सीमावर्ती अपराधमा कमी आउनु उल्लेखनीय उपलब्धि हो।
अपराध नियन्त्रण मात्र होइन, जनविश्वासको पुनःस्थापना
दुवै जिल्लामा प्रहरीको सक्रियताले केवल अपराध नियन्त्रण मात्र गरेको छैन, प्रहरीप्रति जनविश्वास पनि बढाएको छ। स्थानीय व्यापारी, यातायात व्यवसायी र सर्वसाधारणले आफूलाई सुरक्षित महसुस गर्न थालेका छन्।
पहिले राति यात्रा गर्न डराउने अवस्था अहिले क्रमशः हट्दै गएको उनीहरूको अनुभव छ।
शून्य सहनशीलता र जवाफदेही प्रहरी प्रशासन
एसपीद्वय कुँवरले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आफ्नै संगठनभित्रको अनुशासन र जवाफदेहितामा पनि कडाइ गरेका छन्। लापरवाही गर्ने प्रहरीमाथि कारबाही र राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन दिने अभ्यासले संगठनभित्र सकारात्मक ऊर्जा सिर्जना गरेको देखिन्छ।
सुरक्षा विज्ञहरू भन्छन्,“धनुषा र बारामा देखिएको प्रहरीको सक्रियता तराई क्षेत्रको दीर्घकालीन सुरक्षा रणनीतिका लागि मोडल बन्न सक्छ। नेतृत्व स्पष्ट, फिल्ड सक्रिय र सूचना प्रणाली बलियो हुँदा अपराध आफैं कमजोर हुन्छ।”
तराईका संवेदनशील जिल्ला धनुषा र बारामा अहिले देखिएको सुरक्षा सुधार संयोग होइन, यो दृढ नेतृत्व, स्पष्ट रणनीति र इमानदार कार्यान्वयनको परिणाम हो। एसपी रूगँम कुँवर र एसपी नरेन्द्र कुँवरको कमाण्डमा प्रहरी संगठनले अपराधीलाई मात्र होइन, अपराध गर्ने सोचलाई पनि चुनौती दिएको छ।
यदि यही निरन्तरता कायम रह्यो भने धनुषा र बारा मात्रै होइन, समग्र तराई क्षेत्रकै शान्ति सुरक्षामा सकारात्मक परिवर्तन देखिने अपेक्षा गर्न सकिन्छ।