• ट्रेण्डिङ :

भद्रकालीको कमाण्ड कसले सम्हाल्ला ? दयानिधि ज्ञवालीको सम्भावना बलियो

भद्रकालीको कमाण्ड कसले सम्हाल्ला ? दयानिधि ज्ञवालीको सम्भावना बलियो

cnewsnepal

सोमबार, बैशाख २८ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


२८ बैशाख,काठमाडौं । काठमाडौंस्थित जिल्ला प्रहरी परिसर काठमाडौं को नेतृत्व सम्हाल्ने विषय नेपाल प्रहरीभित्र यतिबेला निकै चासोका साथ हेरिएको छ।

राजधानीको सुरक्षा, अपराध नियन्त्रण र संवेदनशील मुद्दाको अनुसन्धानसँग प्रत्यक्ष जोडिने भएकाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीलाई प्रतिष्ठित र चुनौतीपूर्ण दुवै मानिन्छ।
हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) हरूमध्ये दयानिधि ज्ञवाली, अजय केसी, प्रविण धिताल, सुवास बोहरा र सुरेश काफ्ले काठमाडौं प्रहरी प्रमुख बन्ने दौडमा चर्चामा छन्।

एसएसपी मा बढुवापछि यी पाँचै अधिकृतले हालसम्म ठूलो कार्यालयको कमाण्ड सम्हाल्ने अवसर नपाएकाले आफूलाई प्रमाणित गर्ने तीव्र प्रतिस्पर्धा देखिएको प्रहरी वृत्तमा चर्चा छ। तर तीमध्ये विशेषगरी दयानिधि ज्ञवाली र अजय केसी को नाम अग्रपंक्तिमा रहेको बताइन्छ।
दयानिधि ज्ञवाली : अपरेशन र अनुसन्धानमा अब्बल
प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली लाई अपराध अनुसन्धान, अपरेशन नेतृत्व तथा परिणाममुखी कार्यशैलीका कारण सक्षम कमाण्डरका रूपमा हेरिन्छ। विभिन्न युनिटमा रहँदा उनले गरेका अपरेशन तथा अनुसन्धानका कामलाई प्रहरी संगठनभित्र प्रभावशाली मानिन्छ।
विशेषगरी बागलुङमा कार्यरत रहँदा उनले शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र संगठनात्मक नेतृत्वमा उल्लेखनीय काम गरेको चर्चा अझै प्रहरी वृत्तमा हुने गरेको छ। कठिन परिस्थितिमा पनि संयमित नेतृत्व, फिल्ड कमाण्डमा सक्रियता र प्रभावकारी निर्णय क्षमताले उनलाई काठमाडौं प्रहरी परिसरको नेतृत्वका लागि बलियो दाबेदार बनाएको स्रोत बताउँछ।

अजय केसी पनि बलियो प्रतिस्पर्धी
यता अजय केसी अनुसन्धान, विश्लेषण क्षमता र जटिल अपराध अनुसन्धानमा दक्ष अधिकृतका रूपमा परिचित छन्। प्रहरी संगठनभित्र उनको अनुसन्धान कौशललाई उच्च मूल्यांकन गरिने गरिएको छ।
स्रोतका अनुसार अन्तिम निर्णय नेतृत्व तहबाट हुने भए पनि हालको अवस्था हेर्दा दयानिधि ज्ञवाली लाई उच्च प्राथमिकतामा राखिएको चर्चा व्यापक छ।
तर आम नागरिकको अपेक्षा भने स्पष्ट छ— जो काठमाडौं प्रहरी प्रमुख बने पनि उनले विधिको शासन, नागरिक सुरक्षा र प्रहरीप्रतिको जनविश्वासलाई अझ सुदृढ बनाउन सकून्।

प्रतिक्रिया
सम्बन्धित समाचार