महायोगी सिद्धबाबामाथिको आरोप धर्म संस्कृती माथी प्रहार !

काठमाडौं, ११ मंसिर । महायोगी सिद्धबाबालाई चरित्र हत्याको आरोप लगाएर षड्यन्त्र गर्न खोजेको भन्दै महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण गराएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।

सुनसरीको चतरामा आश्रममा रहेका महायोगी सिद्धबाबाको चरित्र हत्याको आरोप लगाएपछि प्रतिष्ठानले सिद्धबाबाविरुद्ध गलत अभिप्रायका साथ केही व्यक्तिहरु लागेको उल्लेख गरेको छ ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले सिद्धबाबाविरुद्ध कुतसीत नियतले चरित्रहत्या गर्न केही संगठित समूह सक्रिय रहेको बताए ।

उनले भने,‘ सिद्धबाबाविरुद्ध कुत्सीत नियतले चरित्रहत्या गर्ने गरी केही संगठित प्रयास भइरहेकोले त्यसतर्फ सजग रहन आग्रह गर्दछौं ।’ उनले नेपाल भूमि सिद्ध सन्त महापुरुषको भूमी भएको र त्यसै कडीमा हाल समाधीसिद्ध महायोगी सिद्धबाबा अर्थतन्त्रको विकासका लागि हरित अभियान, प्राकृतिक चिकित्सा विज्ञान जस्ता महत्वपूर्ण अभियानमा रहेको अवस्थामा गम्भीर आरोप लगाउनुलाई षड्यन्त्र भनेका छन् ।

सिद्धबाबाले भक्ति उपासना मार्गमा आकर्षित गराउन समाधी अवस्थालाई पटक पटक सार्वजनिक गरेको समेत उल्लेख गरे ।

प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले सिद्धबाबाविरुद्ध संगठित गिरोह लागेकाले तत्काल छानविन गरी कडा कारबाहीको माग गरे ।

संगठित गिरोहविरुद्ध प्रहरीमा निवेदन समेत दिइएको उनको भनाई थियो । पण्डितले भने,‘उहाँको चरित्र हत्या गर्ने उद्देश्यले विगतमा पनि महिलाहरुलाई प्रयोग गर्ने प्रयास असफल भएको थियो ।

फेरि त्यो प्रयास सुरु भएको हुँदा त्यसलाई बुझि सो षड्यन्त्र उपर अनुसन्धान गर्न प्रहरीमा निवेदन दिइसकेका छौं ।’

सिद्धबाबालाई  कल्पनै गर्न नसकिने आरोप लगाउन खोजिएको विषयलाई सुनियोजित षड्यन्त्र भनेका छन् । त्यसैगरि अभियान टाइम्ससँग कुरा गर्दै प्रतिष्ठानका सदस्य भरत सापकोटा भन्छन्, ‘सिद्धबाबामाथि कपोकल्पित,भ्रामक आरोप जुन किसिमले लगाइएको छ । यो समग्र ओमकार परिवार सहितको धर्म संस्कृती माथी प्रहार भएको हामीले बुझेका छौं ।

सनातनी पद्धतीलाई नपचाउने गिरोहहरुले नियोजित रुपमा गुरुको आत्मसम्मानमा चोट पुर्याउने काम भएको छ । यस्को निस्पक्ष छानबिन हुन जरुरी छ ।

जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबाका रुपमा परिचित सिद्धबाबा निकै लोकप्रीय छन् ।