४ चैत्र चितवन । चितवनमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।
मंगलबार बिहान ६ बजे भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पताल अगाडि ना ७ ख ४०९१ नम्बरको ट्रकले साइकलमा सवार भरतपुर महानगरपालिका-७ कृष्णपुरकी ३५ लक्ष्मी सुवेदीलाई ठक्कर दिएको थियो।

चौबिसकोटीबाट गीतानगरतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्करबाट सुवेदी गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनापछि उनलाई प्रहरीले उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।अस्पतालले पौने सात बजे सुवेदीको मृत्यु भएको घोषणा गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले बताए ।

प्रहरी निरीक्षक भट्टका अनुसार फरार रहेका ट्रक चालक माडी बस्ने ३२ वर्षीय विष्णुकुमार महतोलाई प्रहरीले बिहानै गीतानगरबाट पक्राउ गरेको हो। दुर्घटनापछि केहीबेर स्थानीय आक्रोशित भएका थिए ।