भारतीय स्थल सेनाध्यक्ष नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी (तस्वीर)

काठमाडौं, २० कात्तिक । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार नेपाल आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल एम.एम.नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ । जनरल

नरवणेले विहीबार (आज) बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गर्नु भएको छ । सोही अवसरमा उहाँले यसभन्दा अघि भ्रमणमा आउनु भएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोप्नु भएको छ ।

त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापा र जनरल नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । सो छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त भेटपछि जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न Nepal-India Bilateral Consultative Group’s Meeting on Security Issues को निर्णय अनुसार, सहयोग स्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गर्नुभएको थियो । नेपाली सेनाका तर्फबाट महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गर्नु भएको थियो । आज साँझ जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

तस्वीर: