अपडेट : त्रिशुलीमा खसेको गाडीबाट निकालियो दुई जनाको शव

 

इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा स्कार्पियाे खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार बिहान लु १ च ९७३१ नम्बरको स्कारपियाे भ्यान त्रिशूलीमा खसेको थियो । साे गाडीमा राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष मुकुन्द रोका सहितको परिवार चढेको गाडी त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका थिए ।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने राेका पाैडिएर बाच्न सफल भएका थिए ।

बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।