राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई केन्द्रमा राखेर सङ्घीयताको विरोध : नेकपा मसाल

रोस दानी काठमाडौं, १४ मंसिर । नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले आफ्नो पार्टीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई केन्द्रमा राखेर सङ्घीयताको विरोध गरेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा काठमाडौंको आयोजनामा आज माइतीघर मण्डलामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई पार्टीले केन्द्रमा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई केन्द्रमा राखेर सङ्घीयताको विरोध गरेको छ, हामीले सत्ताका लागि सङ्घीयताको विरोध गरेका होइनौँ ।’

साथै उहाँले ‘सङ्घीयताले राष्ट्रियता, सार्वभौमिकता कमजोर हुनुको साथै भौगोलिक अखण्डतामाथि आँच पुग्ने र जात जातिमाझको सद्भावमा विग्रह आएर देश आर्थिक रूपमा कमजोर हुने भएकाले सङ्घीयताको विरोध गरेको स्पष्ट पार्नुभयो ।

त्यस्तैगरी उहाँले सङ्घीयता सेतो हात्ती भएको बताउँदै यसले जनतामाथि करको बोझ लादेर र युवाजतिलाई विदेश धपाएर अहिले देशमा सङ्घीयतारूपी आठ वटा सेतो हात्ती पालिएको बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सङ्घीयताले स्थानीयस्तरमा मुखिया, जिम्माल, राजारजौटा प्रवृत्ति उत्पादन गर्दै गइरहेकोसमेत बताउनुभयो ।

चौतर्फी रूपमा सङ्घीयताको विरोधमा आवाज उठ्दै गइरहेको वर्तमान अवस्थामा सङ्घीयतालाई खारेज नगरे देशै समाप्त हुने चेतावनी पनि उहाँले दिनुभयो ।

अहिले पुनरुत्थान वादीहरूको चलखेल बढ्दै गइरहेको बताउँदै उहाँले आफ्नो पार्टी गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा रहेको बताउनुभयो । त्यस्तै, उहाँले एमसीसी पास गरिएमा त्यसबाट देशको असंलग्नतासहितको स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने दावी गर्दै कुनै पनि हालतमा एमसीसी पारित नगर्न सरकारसित आग्रह गर्नुभयो ।

विरोधसभामा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले सङ्घीयताबाट जनता आत्तिएको बताउनुभयो । ‘अब सङ्घीयता खारेज गर्ने बेला आयो’ रेग्मीले भन्नुभयो । स्वयम् सत्तारूढ दलकै नेता–कार्यकर्ता सङ्घीयताको विरोधमा उभिइरहेको उहाँको दावी थियो । अब सङ्घीयताको विरोधमा देशव्यापी आन्दोलन अगाडि बढनपनि उहाँले आह्वान गर्नुभयो ।

अध्यक्ष रेग्मीले भारतले सडक निर्माण गर्दै लिम्पियाधुरादेखि लिपुलेकसम्मको सीमा अतिक्रमण गरिरहेकोमा सरकार बोल्न नसकेको बताउनुभयो । त्यस्तै, विदेशस्थित अलपत्र नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नसकेकोमा पनि उहाँले सरकारको आलोचना गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सांसद पियारी थापाले पछिल्लो समयमा महिलामाथिको हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलामाथिका यस्ता जघन्य अपराधको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै त्यसका विरुद्ध गम्भीर कदम उठाउन माग गर्नुभयो ।