नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं : सेयर बजार परिसूचक नेप्सेले सोमबार २०२८.४५ अंकसम्म परीक्षण गरेको छ । यो नेपाली सेयर बजारले बनाएको अहिलेसम्मकै उच्चतम विन्दु हो । वाणिज्य बैंक समूहमा उछाल आएपछि परिसूचक माथिल्लो विन्दुमा पुगेको छ । आज बजारमा केही उतारचढाव पनि देखिएको छ । २०२८ को उच्चतम विन्दुपछि बजार केही तल झरेर कारोबार भइरहेको छ । उच्चतम विन्दुमा पुगेका बेला बेच्ने र किन्नेहरुको प्रतिस्पर्धा चलिरहेको देख्न सकिन्छ ।

यो समाचार तयार पार्दासम्म नेप्से सूचक २००० हजार विन्दुको आसपासमा रहेको छ । झन्डै ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । करिब १ घन्टा अवधिमा ३ अर्ब हाराहारीमा सेयर कारोबार भएको हो । पछिल्ला दिनहरुमा खरिदबिक्री रकममा निकै तेजी देखिएको छ । खरिदबिक्रीमा उत्साह चुलिंदा सूचकले पनि रफ्तार समाएको हो । समाचार तयार पार्दासम्म अधिकांश समूहका सूचकहरु हरिया देखिएका छन् ।