गण्डकी, ३२ साउन ।जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्यूनिकरण अभियानलाई तीव्रता दिएका छन् । 
संयुक्त प्रयासमा सवारी साधनको स्वरुप परिवर्तन गर्ने, लेन अनुशासन पालना नगर्ने, जिकज्याक बाईक कुदाउनेका विरूद्ध प्रहरीले विशेष निगरानी बढाएको हो ।

त्यस्तै ग्रामीण भेगमा सञ्चालित सवारी साधनको अवस्थाबारे जानकारी लिने र सवारी साधनलाई राम्रो अवस्थामा राखेर मात्रै यात्रुहरूलाई सेवा दिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार पछिल्लो दुई दिनमा २६ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । मोटरसाइकलको स्वरूप परिवर्तन गरि चलाउने, गाउँ टोल नै थर्कने गरि आवाज निकाल्ने, जिकज्याक र लेन अनुशासन विपरीत सवारीसाधन चलाउने सातवटा बुलेट, ११ वटा क्रसफायर र अन्य आठवटा मोटरसाईकललाई नियन्त्रणमा लिई कारवाही गरिएको उहाँले जानकारी दिए ।
सवारी नियम उल्लंघन गर्ने विरूद्ध अभियानकै रूपमा कारबाही गरिएको बताउँदै उहाँले पछिल्ला दुई महिना यता यस्तो कार्य अन्तर्गत करिव दुई सयको हाराहारीमा मोटरसाईकल कारवाहीमा परिसकेको जानकारी दिए ।
बन्दाबन्दी खुकुलो भएसँगै पोखरामा बढ्दो चाप र घुमफिरमा बृद्धि भएको छ । सवारी साधनको स्वरुप परिवर्तन(मोडिफाई) पश्चात् दुर्घटनाको दरमा बृद्धि हुने र ठूला मोटरसाइकलको चर्को आवाजले समुदायमा नकारात्मक असर पर्ने गरेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले दैनिक अन्य सवारी नियम उल्लंघन गर्ने करिव १२० सवारी साधनलाई कारवाही गर्दै आईरहेको छ । जस मध्ये मापसे गरि सवारी साधन चलाउने, जथाभावी सवारी साधन पार्किङ गर्ने, सार्वजनिक सवारी साधनले जथाभावी यात्रु चढाउने र उकाल्ने जस्ता सवारी साधनलाई कारवाही गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा बन्दाबन्दी पश्चात् सम्पूर्ण सवारी साधन सञ्चालनमा आएसँगै कोभिड १९को जोखिमबाट बच्न एक हप्ते स्वास्थ्य सचेतना अभियान साउन १७ गते देखि २३ गतेसम्म सञ्चालन गरेको थियो ।
उक्त अवधिमा १० हजार भन्दा बढी यात्रु चालक र सहचालकहरूलाई सचेत गराईएको थियो भने नौ हजार भन्दा बढी सचेतनामुलक पर्चा वितरण गरिएको थियो । उक्त अभियानमा महानगरको मुख्य सडक, चोकका साथै ग्रामीण भेगमा समेत सचेतना अभियान सञ्चालन गरि २ हजार मास्क समेत वितरण गरिएको थियो ।
त्यस्तै ध्वनि प्रदुषणले नकारात्मक असर पर्ने र स्वास्थमा समेत असर पर्ने भन्दै नो हर्न पोखरा अभियान नै सञ्चालनमा ल्याइएको छ । अभियान अन्तर्गत पहिलो चरणमा ट्राफिक प्रहरीले स्टिकर टास्ने र सम्झाउने गर्नेछ । 
पोखरा महानगरपालिकाले ध्वनि प्रदुषणलाई मध्यनजर राखि २०७४ सालबाटै पोखरा महानगरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । हर्न निषेधित क्षेत्र भए पनि सवारी चालकले जथाभावी हर्न बजाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जथाभावी हर्न बजाउने कार्यलाई रोक लगाउन सुरू गरेको हो ।

अनावश्यक रुपमा सवारी साधनले पोखरामा हर्न बजाएको फेला परेमा ट्राफिकको नियम अनुसार पाँच सयदेखि १५ सयसम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बस्नेतले बताए ।