आगलागीबाट करिब ९० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट

काठमाडौं, २६ वैशाख

करिब ४ घण्टाको अवधिमा देशका ५ स्थानमा आगलागी हुँदा ९० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार १६:०० बजेदेखि २०:३० सम्मको सो अवधिमा काठमाडौं, रुकुम(पश्चिम), म्याग्दी, दाङर कञ्चनपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये काठमाडौं महानगरपालिका-२८ दरबारमार्गस्थित झापाका ३५ वर्षीय कुल बहादुर थापाको जेभीपाथीभरा खुद्रा स्टोरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी रुकुम(पश्चिम) बाफिकोट गाउँपालिका-९ बस्ने धन बहादुर खत्रीको घरमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी म्याग्दी मंगला गाउँपालिका-१ पुर्णगाउँ बस्ने ५३ वर्षीय हेम बहादुर खत्रीको घरमा आगलागी हुँदा घर, अन्नपात,भाडावर्तन र लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी दाङ घोराही उपमहानगरपालिका-१ सिरुखर्कस्थित सल्लीकोट सामुदयिक बनमा लागेको आगोबाट  ५६ वर्षीय हेमलाल थापा समेत ५ जनाको घरगोठमा आगलागी हुँदा ५ वटा घरगोठ जलेर करिब ५० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी कञ्चनपुरबेदकोट नगरपालिका-१० हरपाल बस्ने नैन सिंह मडैको भान्छा घरमा बालेको आगोबाट आगलागी हुँदा भान्छा घर, अन्नपात,काठपात रभाडाबर्तन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बाच्ने उपायबारे जानकरी समेत गराएको छ ।