• ट्रेण्डिङ :

कलाकार निशा घिमिरेको निधन, आज पशुपतिमा अन्त्येष्टी गरिने

कलाकार निशा घिमिरेको निधन, आज पशुपतिमा अन्त्येष्टी गरिने

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१७ भदौ,काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।

घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार  साँझ ६ः ५१ निधन भएको हाे ।

घिमिरेको पार्थिव शरीरलाई आज दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो।

समाचार माध्यमबाट आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा निशाको समाचार थाहा पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले गत २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो । उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्।

 

‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छा,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

मंगलबार मात्र अस्पतालले एक पत्रकार सम्मेलन गर्दै निशाको अवस्था स्थिर रहेको जानकारी दिएको थियो । सो क्रममा अस्पतालले उनको उपचारका सबै प्रयास असफल रहेको जनाएको थियो । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रतिदिन बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार