३२ असार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसंगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खवरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त