• ट्रेण्डिङ :

आफूलाई फसाउने षड्यन्त्र बुझेपछि डिआईजीको राजीनामा

आफूलाई फसाउने षड्यन्त्र बुझेपछि डिआईजीको राजीनामा

cnewsnepal

आइतबार, फाल्गुन १४ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । बिहीबार गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट राजीनामा दिएका अशोक सिंहको राजीनामा स्वीकृत गरे । डिआईजी सिंह प्रहरी महानिरीक्षक (आईजी)का दाबेदारका रुपमा देखिएका थिए ।

जन्ममिति र शैक्षिक योग्यतामा प्रश्न उठाउँदै ३ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिंहविरुद्ध उजुरी परेको थियो । त्यसै विवादमा आफूलाई फसाउने षड्यन्त्र बुझेपछि सिंहले गत बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।

तर, २८ वर्ष सेवाकालमा नदेखिएको उमेर विवाद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको मुखमा सार्वजनिक भएपछि डिआईजी सिंहले प्रहरी सेवाबाटै राजीनामा दिन परेपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ । हाल प्रहरीमा पाँच एआईजी पद रिक्त छ ।

सिंह एआईजीमा बढुवा हुने लगभग पक्कापक्की जस्तै रहेको र आईजी बन्ने देखेपछि आफ्नै प्रतिस्पर्धीहरुले उनको कमजोरी बाहिर ल्याएको स्रोत बताउँछ । स्रोत भन्छ, उहाँविरुद्ध प्रतिस्पर्धीहरुले नै अख्तियारमा उजुरी गर्न लगाएका हुन् ।

उनीनिकट स्रोतका अनुसार हालका आईजी धीरज प्रताप सिंह र उनीबीच राम्रो सम्बन्ध थिएन । आईजी सिंहले अन्य डिआईजीहरुलाई बोकेर हिँड्दा डिआईजी सिंहलाई कहिल्यै आफ्नो संगठनको जस्तो कर्मचारी मानेर व्यवहार गरेनन्, स्रोत भन्छ । जबकी धीरज आईजी हुनमा उनै सिंहको ठूलो हात समेत रहेको बताइएको छ ।

डिआईजी सिंहलाई बढुवा हुनबाट रोक्न आईजी सिंहको ठूलो हात रहेको स्रोतको दाबी छ । यसकारण आईजी सिंह र उनका ब्याचमेटहरु मिलेर उनलाई आईजी हुनबाट रोक्न उनको कमजोरी बाहिर ल्याइएको हो, स्रोत बताउँछ ।

यतिसम्म की अख्तियारमा उजुरी परेपछि डिआईजी सिंह कानुनी परामर्शको लागि संगठन प्रमुखको हैसियतमा रहेका आईजी सिंहलाई भेट्न जाँदा समेत उल्टो (आईजीले राजीनामा दिने भए दे, होइन भने तँ नराम्रोसँग फस्छस्) भन्दै थर्काएको समेत चर्चा छ ।

सिंहको कमजोरी बाहिर ल्याएसँगै अन्य डिआईजीहरुको समेत कमजोरी बाहिर ल्याउने होडबाजी नै चलेको छ । एकअर्काका कमीकमजोरी खोज्नेदेखि शक्तिकेन्द्र रिझाउनेसम्मका गतिविधिमा लागेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार