१८ जेठ,काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
सिन्धुलीमा निर्माणाधीन आयोजनाको निरीक्षणपछि मन्त्री खड्काले ठेकेदार कम्पनीलाई कामलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन्। “आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाउनुस्, तोकिएकै समयमा सक्ने गरी लाग्नुस्, स्पिड बढाउनुस्। कार्यप्रगतिको आधारमा बजेटको अभाव हुने छैन,” उनले भने।
१३.२ किलोमिटर सुरुङ निर्माण भइसकेको उल्लेख गर्दै उनले अब हेडवक्सको कामलाई पनि तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिए। “यो देश हामी सबैको हो—ठेकेदार, कर्मचारी वा मन्त्री जो भए पनि। देशको विकास भए सबैको विकास हुन्छ। काम छिटो सक्ने हुटहुटीका साथ लाग्नुस्,” उनले बताए।
निर्माण कम्पनीलाई स्पष्ट खाका बनाएर लक्ष्यअनुसार अघि बढ्न निर्देशन दिँदै मन्त्री खड्काले भने, “काम हामीले नै गर्नुपर्छ, अरूले होइन। लक्ष्य हासिल नभएमा सरकारले वैकल्पिक बाटो अवलम्बन गर्छ, त्यो सरकारको बाध्यता हो।”
आयोजनाबाट १ लाख २२ हजार हेक्टर सिचाइँ सुविधा पुग्ने, ३२ मेगावाट विद्युत् उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानीका लागि छुट्याउने योजना रहेकाले सबै मिलेर काम गर्नुपर्नेमा मन्त्री खड्काले जोड दिए। “लक्ष्य भेट्ने गरी काम गर्नुस्, म्याद थपको कुरा नगरौं,” उनले भने।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिँदै भने, “अहिलेसम्म ५० प्रतिशत काम सकिनुपर्नेमा हेडवक्समा जम्मा १९ प्रतिशत मात्र काम हुनु दुःखद हो। अब तोकिएको मितिमा आयोजना सक्नुपर्नेछ।”
उनले हालको गति यथावत् रहे ठेक्का तोडिने चेतावनी दिए। उनका अनुसार करिब १४ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजना अन्तर्गत हालसम्म १ अर्ब २० करोड रुपैयाँ मोविलाइजेसन खर्च भइसकेको छ।
स्मेक कन्सल्ट्यान्टका प्रतिनिधि दिवस श्रेष्ठले निर्माणको काम चित्तबुझ्दो नभएको टिप्पणी गर्दै भने, “समयमै सम्पन्न गर्न हामी ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेका छौं।”
आयोजनाका ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधि रमन पटेलले भने विभागबाट भुक्तानी समयमा नभएकाले काममा ढिलाइ भएको बताए। “सरकारले सहयोग गरे हामी समयमै आयोजना सम्पन्न गर्छौं,” उनले बताए।
उक्त अवसरमा उर्जामन्त्री खड्काले टनेल, पावरहाउस र हेडवक्सको अवलोकन गरेका थिए। उनीसँगै उर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो।


भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त