• ट्रेण्डिङ :

उर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रोको अवलोकन

उर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रोको अवलोकन

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, ९ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजना अवलोकन गरेका छन्।

दुई दिने नेपाल भ्रमणमा रहेका मन्त्री खट्टरले उर्जामन्त्री खड्काको निमन्त्रणमा आयोजना क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा दुबैले आयोजनाको ‘युनिट–२’को संयुक्त उद्घाटन गरेका छन् भने पावर हाउस नजिक वृक्षारोपण पनि गरेका छन्।

मन्त्रीहरूले आयोजनाको प्रगति, समस्याबारे ठेकेदार कम्पनीसँग प्रत्यक्ष जानकारी लिएका छन्। उर्जामन्त्री खड्काले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै आयोजनालाई समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

उनले भने, “अरुण तेस्रो देशकै महत्वपूर्ण आयोजना हो, सरकार यसमा कुनै कमी हुन दिँदैन। छिटो सक्नुस्।”

भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत् क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै, समयमै आयोजना सम्पन्न भए दुबै देशलाई फाइदा हुने बताए। भारत सरकार जलविद्युतमा थप लगानी गर्न तयार रहेको उनको भनाइ थियो।

९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा निर्माण हुँदैछ। सन् २०१८ (वि.सं. २०७५ वैशाख) मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको शिलान्यास गरेका थिए।

रु १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको आयोजनाको निर्माण जिम्मा भारतीय सतलज हाईड्रोपावर कम्पनीसँग छ।

प्रतिक्रिया
सम्बन्धित समाचार