२० फागुन, काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी नेत्रबहादुर पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
जग्गा कित्ताकाट गरी पुर्जा उपलब्ध गराउन सेवाग्राहीसँग घुस माग गरेको सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हालसाविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौलागाईंमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को (ख) बमोजिम सजाय मागेको छ। उक्त दफामा २५ देखि ५० हजार रुपैयाँसम्म घुस लिनेलाई तीन महिनादेखि चार महिनासम्म कैद सजाय हुने व्यवस्था छ।