काभ्रे, जेठ ३ । धुलिखेल नगरपालिका–७ स्थित संजीवनी चोकमा शुक्रबार बिहान करिब ११:३० बजे करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
११ हजार भोल्ट क्षमताको हाईटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेका युवक अचानक करेन्ट लागेर पोलमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। मृत्यु हुनेमा सर्लाही जिल्ला, लालबन्दी नगरपालिका स्थायी घर भई हाल वडा नम्बर खुल्न बाँकी रहेको, अन्दाजी २८ वर्षीय उज्वल नेपाली (परियार) रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्र.नि. हरिराम नेपालले जानकारी दिए।
घटनाको खबर प्राप्त हुनासाथ प्र.नि. नेपालको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले मृतकलाई पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनास्थलमा थप अनुसन्धानका लागि प्र.नि. दिनेश बहादुर कुँवरको नेतृत्वमा SOCO टोली खटिएको प्रहरीले जनाएको छ।
घटनास्थल धुलिखेलस्थित संजीवनी चोकबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्दछ। प्रारम्भिक अनुसन्धानपछि मात्रै घटना कसरी घट्यो भन्ने बारे थप खुल्ने प्रहरीले जनाएको छ। तस्बिर : राेजन तामाङ पत्रकार काभ्रे