• ट्रेण्डिङ :

कोहलपुर–सुर्खेत प्रसारण लाइनको विवाद समाधानमा उर्जा मन्त्रीको चासो

कोहलपुर–सुर्खेत प्रसारण लाइनको विवाद समाधानमा उर्जा मन्त्रीको चासो

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


 २३ वैशाख,काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्।

मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर, स्थानीयको अवरोधले निर्माण प्रभावित भइरहेको तीन वटा विद्युत् टावरको काम तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन्।

स्थानीयवासीको मागलाई उचित रूपमा सम्बोधन गर्दै विकास निर्माणको काम अघि बढाउनु पर्ने भन्दै, सामान्य नागरिक मर्कामा नपर्ने गरी काम गर्न निर्देशन दिइएको उनले बताए। प्रभावित घरधुरीलाई उचित क्षतिपूर्ति दिँदै पुनःस्थापना सुनिश्चित गर्नुपर्ने मन्त्रीको भनाइ रहेको थियो।

भेटका क्रममा आयोजना प्रमुख चौधरीले स्थानीय अवरोधकै कारण आयोजनाको काम अघि बढ्न नसकेको जानकारी गराएका छन्। उनका अनुसार बानियाभार क्षेत्रमा तीन वटा टावर अझै निर्माण हुन बाँकी छन्।

विसं २०७७ भदौ ७ गते सम्झौता भई, दुई वर्षभित्र निर्माण, डिजाइन, परीक्षण, वितरण तथा प्लान्ट खरिदसम्मका काम सक्ने लक्ष्य राखिएको भए पनि स्थानीयको अवरोधका कारण काममा ढिलाइ भइरहेको बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार