• ट्रेण्डिङ :

खुर्कोट हिरासत घटनामा एसपी सुवेदीमाथि विभागीय कारबाही होइन ‘सचेत’ मात्र: यस्तो छ उनको कमाण्डको ऐतिहासिक सफलता र सरुवाको वास्तविकता

खुर्कोट हिरासत घटनामा एसपी सुवेदीमाथि विभागीय कारबाही होइन ‘सचेत’ मात्र: यस्तो छ उनको कमाण्डको ऐतिहासिक सफलता र सरुवाको वास्तविकता

cnewsnepal

बुधबार, जेष्ठ १३ २०८३
पढ्न लाग्ने समय: < ७ मिनेट


काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएको घटनालाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति प्रहरी वृत्त र स्थानीय स्तरमा गम्भीर ध्यानाकर्षण भएको छ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सिन्धुलीका तत्कालीन जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीसहित १० जनालाई ‘कारबाही सिफारिस’ गरिएको भनी बाहिरिएका कतिपय समाचारहरू भ्रामक र यथार्थभन्दा टाढा रहेका छन्।

​वास्तविकता के हो भने, छानबिन समितिले एसपी सुवेदीलाई कुनै विभागीय सजाय वा नसिहत नभई विभागीय रूपमा केवल ‘सचेत (ध्यानाकर्षण)’ गराउन मात्र सिफारिस गरेको हो। हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा जिल्ला कमाण्डरका नाताले नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउन समितिले निर्देशनात्मक सुझाव दिएको हो। हाल एसपी सुवेदीको सिन्धुलीबाट अन्यत्र सरुवासमेत भइसकेको छ।

​’मदर इन्भेस्टिगेटर’ एसपी सुवेदी: जहाँ पुगे, त्यहाँका जघन्य अपराधको रहस्य खोले

​प्रहरी संगठनभित्र एक अत्यन्तै कुशल, व्यावसायिक, र दक्ष प्रहरी अधिकृतको पहिचान बनाएका एसपी लालध्वज सुवेदी जटिल आपराधिक घटनाको सफल अनुसन्धान गर्ने ‘मदर इन्भेस्टिगेटर’ का रूपमा परिचित छन्। लागूऔषध नियन्त्रण, जघन्य अपराधको सफल कमाण्ड र प्रविधिको उच्चतम् प्रयोगमा उनको भूमिका सधैं अग्रणी रहँदै आएको छ।

१. २२ वर्ष पुरानो ‘कोल्ड केस’: दम्पती हत्याका फरार प्रतिवादी दाङबाट पक्राउ

​विगत २२ वर्षदेखि कानुनको आँखा छलेर फरार रहेका कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादीलाई कानुनी दायरामा ल्याउनु एसपी सुवेदीको कार्यकालको सबैभन्दा ठूलो सफलता मानिएको छ। २०६० साल पुस ६ गते साविक अरुण ठाकुर गा.वि.स. (हाल दुधौली नगरपालिका–१३) मा रत्न बहादुर कार्की र उनकी श्रीमती दुर्गा माया कार्कीको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको थियो।

​२०६० साल फागुनमा किटानी जाहेरी परेका उदयपुर कटारीका मुख्य प्रतिवादी केदार सिंह थापालाई सुवेदीकै निरन्तरको अनुसन्धान फलोअपका कारण २०८२ असार २३ गते दाङको लमहीबाट पक्राउ गरियो। अदालतको थुनछेक आदेशले उनी हाल कारागारमा छन्।

​२. हतियारधारी समूहद्वारा भएको ‘नेपाल एसबीआई बैंक’ लुटपाटको २ करोड बढी बरामद, ८ पक्राउ

​२०८२ पुस २९ गते घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा ५/६ जना नकाबधारीले कर्मचारी र गार्डलाई बन्धक बनाई करोडौँ रकम डाँका चोरी गरेका थिए। घटनाको सूचना पाउनासाथ एसपी सुवेदीले जिल्ला, इप्रका बस्तुपुर र स्थानीय नागरिकसहितको टोली जंगलमा परिचालन गरे।

​तत्कालै घटनास्थलबाट २ किमिको दूरीमा लुटपाटमा प्रयोग भएको टाटा सुमो र चालक नियन्त्रणमा लिइयो। खोजीकै क्रममा चिहानडाँडा र सुकाचुरीडाँडाबाट लुटेराहरू सहित रु १,८०,१०,०००।-रु ५,०९,६७५।- बरामद भयो। पछि आरोपीहरूले खाल्डोमा पुरेको अवस्थामा थप रु ८३,३५,०००।- सहित चोरीमा प्रयोग भएका नकाब, पन्जा र टेप बरामद भयो। घटनामा संलग्न छविलाल स्याङतान, चतुरमान बजु, ज्ञान बहादुर भ्लोन तामाङ, शशांक श्रेष्ठ, मिलन गिरी, विवेक मगर, भागवत सिंह थापा र परिवर्तित नाम ३५ सहित ८ जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार/बालसुधार गृह पठाइएको छ।

​३. ५० वर्षीया टंकमाया बुढाथोकीको जघन्य हत्या र शव लुकाउने दुई जना पक्राउ

​२०८२ पुस ९ गते तीनपाटन गाउँपालिका–३ कोलबोटकी ५० वर्षीया टंकमाया बुढाथोकी रहस्यमय तरिकाले बेपत्ता भइन्। उनको सुत्ने खाटमा रगत र दिसा जस्तो पदार्थ भेटिएपछि एसपी सुवेदीले विशेष टोली गठन गरी आधुनिक ड्रोन क्यामेरातालिमप्राप्त कुकुरको सहयोगमा खोजी तीव्र पारे।

​खोजतलासका क्रममा पुस २१ गते उनको घरभन्दा ३०० मिटर टाढा बाँसको झाङमा पातपतिङ्गर र ढुङ्गामाटोले छोपेको अवस्थामा सडेगलेको शव फेला पर्‍यो। जबरजस्ती करणी (जजक) पश्चात् हत्या गरी लास लुकाउने मुख्य प्रतिवादीहरू शान्ती बहादुर बुढाथोकी (दीपक) र चुक्त बहादुर कटुवाल (सम्पत) लाई पक्राउ गरी अदालतको आदेशले कारागार चलान गरिएको छ।

​४. धुराफाँट पेट्रोल आगलागी एवं महिला हत्या प्रकरणको पर्दाफास

​२०८२ पुस ६ गते कमलामाई नगरपालिका–४ धुराफाँटमा ६२ वर्षीय दुर्गामान बम्जनको घरमा पेट्रोल छर्की आगो लगाएर ३२ वर्षीया सुशीला बम्जनको जघन्य हत्या गरिएको थियो। घटनामा ससुरा दुर्गामान समेत घाइते भएका थिए।

​एसपी सुवेदीको सूक्ष्म सोधपुछ र अनुसन्धानका क्रममा मृतक सुशीलाको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा आफ्नै नन्द मिना लामा (बम्जन) ले योजनाबद्ध रूपमा ३ जम्बो पेट्रोल किनेर दराजमा लुकाई, काठमा सल बेरेर पुल्ठो बनाई आगो लगाएको खुल्यो। घटनामा संलग्न सासु माया रानी बम्जन, ससुरा दुर्गामान बम्जन र नन्द मिना लामालाई तत्काल पक्राउ गरियो। घाइते ससुरालाई कीर्तिपुर बर्न अस्पतालमा प्रहरी निगरानीमा उपचार गराई डिस्चार्ज पश्चात् अदालत बुझाइएकोमा तिनै जना हाल पुर्पक्षका लागि कारागारमा छन्।

​५. दुधौलीमा भारतीय नागरिकको हत्या गरी फरार रहेका ३ जना नियन्त्रणमा

​२०८२ साउन ५ गते दुधौली नगरपालिका–२ लामीडाँडा घसिङटोलमा मधुगंगा तीर्थस्थलमा दर्शन गर्न आएका अन्दाजी ३० वर्षका भारतीय नागरिक जस्ता देखिने पुरुषलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरिएको थियो। घटना पश्चात् फरार रहेका स्थानीय विष्णु बहादुर घसिङ, तिल माया घसिङ र भारत बिहारका अवनीश कुमारलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्यायो। अदालतको आदेशले उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन्।

​६. जंगलमा सलले घाँटी बेरेर फालिएकी छत्र कुमारीको हत्यारा पक्राउ

​२०८२ कार्तिक १७ गते तीनपाटन गाउँपालिका–२ बस्ने ४० वर्षीया छत्र कुमारी कार्की थापा घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। कार्तिक २१ गते चन्दाखोलाको बगर सिसौघारीमा घाँटीमा सलले बेरेको अवस्थामा उनको सडेगलेको शव फेला परेको थियो। एसपी सुवेदीको नेतृत्वले प्राविधिक अनुसन्धानका आधारमा हत्यामा संलग्न दुधौली–१३ अरुणठाकुरका ३४ वर्षीय सूर्य बहादुर कामी (सुरज) लाई पक्राउ गर्‍यो, जो हाल अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन्।

 संखुवासभा सामूहिक हत्याकाण्डको सफल अप्रेसन
​एसपी सुवेदी संखुवासभामा बस्दा नेपालकै इतिहासकै क्रुर र चर्चित सामूहिक हत्याकाण्ड भएको थियो। २०७८ भदौ २१ गते मादी नगरपालिका–१, उमलिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको अवस्थामा उनले स्थलगत कमाण्ड सम्हालेका थिए। कडा मिहिनेत र सूक्ष्म अनुसन्धानका आधारमा घटनाको केही दिनभित्रै हत्यामा संलग्न मृतककै भतिज २६ वर्षीय लोकबहादुर कार्कीलाई हथौडा र रगत लत्पतिएको कपडासहित पक्राउ गरेर सार्वजनिक गरिएको थियो।

​सुरक्षा सुधारमा ऐतिहासिक कोेसेढुङ्गा: शान्तिपूर्ण चुनाव र ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’

​अपराध अनुसन्धान मात्र नभई एसपी लालध्वज सुवेदीको कार्यकालमा जिल्लाको समग्र सुरक्षा प्रणालीलाई नै आधुनिक मोड दिइएको छ:

  • शान्तिपूर्ण प्रतिनिधि सभा निर्वाचन: २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनलाई अत्यन्तै शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन उनको कमाण्डले उत्कृष्ट भूमिका खेल्यो।
  • ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ को स्थापना: सिन्धुली जिल्लाको सुरक्षा व्यवस्थालाई अझ प्रविधिमैत्री र आधुनिक बनाउन स्थानीय निकायहरूको सहयोगमा २०८३ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा अत्याधुनिक ‘Smart Police Control Room’ को स्थापना गरिएको छ। यसले जिल्लाभरिको निगरानी र ‘क्विक रेस्पोन्स’ प्रणालीलाई अत्यन्तै सबल बनाएको छ।

खुर्कोट हिरासत घटनामा जिल्ला कमाण्डरका नाताले केवल ‘सचेत’ मात्र गराइएका एसपी सुवेदीको सिन्धुली कार्यकाल अपराध नियन्त्रण र प्रविधिमैत्री प्रहरी प्रशासनका लागि एक मानक बनेको छ। विकट भूगोल र साधनस्रोतको सीमितताका बीच पनि प्रविधि (ड्रोन/कुकुर) र अचुक अनुसन्धान शैलीको फ्युजन गराएर उनले सिन्धुलीबासीलाई अमनचयनको प्रत्याभूति गराउन सफल भए, जसको स्थानीय स्तर र प्रहरी संगठनभित्र उच्च प्रशंसा भइरहेको छ।

​विगतका कयौँ जटिल अपराधका जालोहरू तोड्न सफल भएका र प्रहरी संगठनमा उच्च व्यावसायिक छवि बनाएका काबिल अफिसर एसपी सुवेदीको सरुवा भइसकेको अवस्थामा, घटनाको वास्तविक गहिरागुथिको बुझाइविना उनीमाथि नै ‘कारबाही’ भएको भनी गरिएका प्रचारहरू केवल भ्रम मात्र हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार