• ट्रेण्डिङ :

चन्द्रागिरि नगरका राजनीतिक दलहरूको मालपोत कार्यालयसँग छलफल, जनसेवा सहज बनाउने सहमति

चन्द्रागिरि नगरका राजनीतिक दलहरूको मालपोत कार्यालयसँग छलफल, जनसेवा सहज बनाउने सहमति

cnewsnepal

शुक्रबार, असोज २४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२४असोज,काठमाडौं  चन्द्रागिरि नगरमा सक्रिय प्रमुख राजनीतिक दलहरूले मालपोत श्रेस्ता अद्यावधिक र जनसेवा सहजताका विषयमा मालपोत कार्यालय कलंकी प्रमुखसँग संयुक्त छलफल गरेका छन्।

छलफलमा नेपाली काँग्रेस चन्द्रागिरि नगरका सभापति राजेन्द्र विक्रम बाँनिया, नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउत, नेकपा (माओवादी केन्द्र) चन्द्रागिरि अध्यक्ष गोपी सुर्खेती, नेकपा (एकीकृत समाजवादी) नगर इन्चार्ज भाई कृष्ण बलामी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नगर इन्चार्ज सुरेश तामाङ, राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर इन्चार्ज रोशन दानी, नेपाल कम्युनिस्ट पार्टीका नगर इन्चार्ज श्याम तामाङ र नेपाल मजदुर किसान पार्टीका जिल्ला उपाध्यक्ष गुणदास महर्जनलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

छलफलमा प्रशासनिक जटिलता हटाई जनतालाई सहज र प्रभावकारी सेवा प्रदान गर्न तथा मालपोत कार्यालयबाट प्रकाशित सूचनाले सिर्जना गरेको भ्रम निराकरण गर्न कार्यविधि जारी गर्ने सहमति गरिएको छ। साथै, विदेश जाने नागरिकहरूलाई आवश्यक कागजी प्रक्रिया सहज बनाउन र अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ नहुने गरी कार्यालय अघि बढाउने विषयमा पनि छलफल केन्द्रित भयो।

भदौ २४ गते जेन–जि आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी हुँदा सबै महत्त्वपूर्ण कागजात, कम्प्युटर तथा दस्तावेज जलेर पूर्ण रूपमा नष्ट भएका थिए। यसै कारण कार्यालयमा आवश्यक सामग्री—कम्प्युटर, मेच, टेबललगायतको अभावमा सेवा प्रवाह प्रभावित भएको छ।

कार्यालय प्रमुख रविन ढकालका अनुसार आइतबारदेखि सेवा प्रक्रिया पुनः सुरु गरिने र अत्यावश्यक सेवाग्राहीहरूलाई विशेष प्राथमिकता दिइनेछ। भवनमा समेत आगलागीका कारण क्षति पुगेकाले तत्काल सबै सेवामा पुनःसंरचना र तयारी पूरा नभएसम्म आवश्यक पर्ने नागरिकहरूले मात्र सेवा लिन अनुरोध गरिएको छ।

राजनीतिक दलका प्रतिनिधिहरूले पनि कागजात किर्ते हुन सक्ने जोखिमप्रति सचेत रहन कार्यालयलाई खवरदारी गर्दै पारदर्शी र नागरिकमैत्री सेवा प्रवाह गर्न जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार