• ट्रेण्डिङ :

चन्द्रागिरि नगरपालिकाको घाटा बजेटको विरोधमा नेकपा (एमाले) को बहिष्कार

चन्द्रागिरि नगरपालिकाको घाटा बजेटको विरोधमा नेकपा (एमाले) को बहिष्कार

चन्द्रागिरि नगरको आर्थिक अनुशासन र पारदर्शितामा गम्भीर प्रश्न उठाउँदै एमालेको प्रेस विज्ञप्ति सार्वजनिक

cnewsnepal

बिहिबार, असार १२ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


चन्द्रागिरि, काठमाडौं — नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले चन्द्रागिरि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत घाटा बजेटप्रति गम्भीर आपत्ति जनाउँदै नगरसभा बैठक बहिष्कार गरेको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै घाटा बजेट नगरलाई ‘आर्थिक अराजकता’ तर्फ धकेल्ने कार्य भएको आरोप लगाएको छ।

विज्ञप्तिमा एमालेले नगरपालिकाले स्रोत सुनिश्चित नगरी अनुत्तरदायी ढंगले १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी राजस्व उठ्ने अनुमानसहित बजेट तयार पारेको भन्दै आलोचना गरेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म जम्मा ३० करोडभन्दा कम मात्र आन्तरिक आय संकलन भएको सन्दर्भ दिँदै यस्तो आकस्मिक प्रक्षेपण जनतामाथि करको चाप बढाउने तयारी भएको स्पष्ट संकेत दिएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख छ कि, नगर प्रमुखले बजेट तर्जुमा समितिको अधिकार हडपेर एकपक्षीय ढंगले बजेट तयार पार्न लगाएका छन्, जुन विधिको चरम उल्लंघन हो। “एक तिहाइ नगरसभा सदस्यको असहमति राख्ने ठाउँसमेत नदिई बहुमतको अहंकार देखाइएको छ,” विज्ञप्तिमा भनिएको छ।

एमालेले महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै नगरपालिकाले ‘स्रोत र साधनको प्रक्षेपण यथार्थपरक नभएको’ चेतावनीलाई बेवास्ता गरेको आरोप पनि लगाएको छ। योजनाहरु सम्पन्न भइसके पनि ४० करोड रुपैयाँ बराबरको भुक्तानी दिन बाँकी रहेको, र उपभोक्ता समिति तथा निर्माण व्यवसायी गम्भीर आर्थिक संकटमा रहेको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ।

अध्यक्ष उत्तमबहादुर राउतले हस्ताक्षर गरेको विज्ञप्तिमा, “जनताले तिरेको करको दुरुपयोग नहोस्, नगर आर्थिक अनुशासनमा चलोस् भन्ने हाम्रो चासो हो,” भन्दै समृद्ध र उत्तरदायी चन्द्रागिरि निर्माणका लागि आम नगरवासीको सहयोग र साथको अपील गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार