बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव शान्तिराज प्रसाईमाथि ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाको कार्यमा बारम्बार अवरोध गरेको आरोप लागेको छ।
एक प्रहरी स्रोतका अनुसार प्रशासकीय अधिकृत प्रसाईले डिएसपी वाइवाको कानुनी कार्यमा हस्तक्षेप गर्दै आफू भविष्यमा सिडिओ बन्ने व्यक्ति भएको र त्यसपछि कासमु (कार्य सम्पादन मुल्यांकन ) आफ्नो मातहत हुने भन्दै प्रहरी अधिकृतहरूमाथि दबाब दिने गरेका छन्। स्रोतका अनुसार उनले जिल्ला प्रहरी कार्यालयका एसपीलाई रिपोर्टिङ गर्नुको सट्टा आफैंलाई जानकारी गराउनुपर्ने भन्दै धम्कीसमेत दिएका छन्।
उपमहानगर पालिकाले नगर प्रहरीले फुटपाथ खाली गराउने क्रममा एक व्यापारीसँग भएको विवादपछि अभद्र व्यवहारसम्बन्धी उजुरी ईलाका प्रहरी कार्यालय जितपुर सिमहरामा पठाएकाे थियाे ।
तर, त्यही क्रममा नगरप्रमुख राजन अधिकारीले फोनमार्फत डिएसपी वाइवालाई “हामी मिलाउँछौँ, अहिले दर्ता नगर्नुहोस्” भनेर पटक पटक आग्रह गरेका थिए ।
यहि विषयलाई प्रशासकीय अधिकृत प्रसाईले तपाईले उजुरी दर्ता गराै कि नगराै भनेर मलाई किन साेध्नु भएन भन्दै धम्की दिएकाे स्राेतकाे दावी छ ।
त्यसपछिकाे संवादमा डिएसपीलाई “तपाईंले मेयरको आदेश मान्ने कि प्रशासनको? म भन्न थालेपछि तपाईको सरुवा गराइन्छ” भन्दै धम्की दिएको बताइएको छ। उनले बाराका सिडिओ सहसचिव वसन्त अधिकारीमार्फत कारबाही गराएर २४ घण्टाभित्र सरुवा गराइदिने चेतावनीसमेत दिएका थिए।
प्रहरी स्रोतका अनुसार, प्रमुख प्रशासकीय अधिकृतले आफूलाई पदीय मर्यादाभन्दा माथि राख्दै शान्ति सुरक्षामा अवाञ्छित हस्तक्षेप गरिरहेका छन्। यता, स्थानीय प्रशासन र प्रहरीबीचको समन्वयमा यस्तो तनाव आउनु दुर्भाग्यपूर्ण भएको प्रहरी अधिकारीहरू बताउँछन्।
यस विषयमा प्रशासकीय अधिकृत प्रसाई र नगरप्रमुख अधिकारीको प्रतिक्रिया लिन प्रयास गर्दा तत्काल सम्पर्क हुन सकेन।