• ट्रेण्डिङ :

त्रिभुवन राजपथ (नागढुङ्गा–नौबिसे) थप ५ दिनका लागि बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

त्रिभुवन राजपथ (नागढुङ्गा–नौबिसे) थप ५ दिनका लागि बन्द, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

cnewsnepal

आइतबार, जेष्ठ २५ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२५ जेठ, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे खण्डको सडक निर्माण कार्यका कारण उक्त सडक खण्ड आगामी पाँच दिनसम्म दैनिक साढे १० बजेबाट दिउँसो ३ बजे सम्म बन्द गरिने भएको छ।

नागढुङ्गा–पिप्लामोड (किलोमिटर ०+००० देखि १+८००) सडक सुधार तथा स्तरोन्नतिको काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म सवारी आवागमन रोकेर निर्माण कार्य सञ्चालन भइरहेकोमा थप समय आवश्यक भएकाले जेठ २६ गतेदेखि ३० गतेसम्म पुनः सवारीसाधन बन्द गरेर निर्माण कार्य अघि बढाइने योजना कार्यालयले जनाएको छ।

निर्माण अवधिभर सवारीसाधनहरु नागढुङ्गा चेकपोस्ट (काठमाडौँबाट बाहिरिने) र खानीखोला बजार (नौबिसेबाट काठमाडौँ आउने) क्षेत्रमा रोकिने छन्। रोकिएका सबै सवारीहरू दिउँसो ३ बजेपछि मात्रै आवागमन गर्न पाउने व्यवस्था गरिएको छ।

सवारीचालक तथा यात्रुहरूका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ: १. सीतापाईला–रामकोट–धार्के सडक
२. सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक

निर्माण कार्यको समयमा सवारीसाधन रोक्दा वा चलाउँदा आफ्नो लेनको अनुशासन कडाइका साथ पालना गर्न र जथाभावी ओभरटेक नगर्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।

यस्तै, दमकल, एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारीसाधन भने यो अवधिमा निर्वाध रुपमा संचालन हुने जानकारी गराइएको छ।

योजना कार्यालयले अस्थायी सडक बन्दका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार