४ असाेज,काठमाडौं । उपत्यकाको प्रवेशद्वार मानिने थानकोट चेकपोष्टस्थित प्रहरी बृत्तको अत्याधुनिक र सुविधा सम्पन्न भवन भदौ १६ गते मात्रै भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । करिब ७ करोड ७१ लाख रुपैयाँ लागतमा बनेको सो भवनलाई प्रहरी नायब महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले उद्घाटन गरेका थिए ।
भवनलाई उपत्यकाको शान्ति सुरक्षामा नयाँ माइलस्टोनका रूपमा लिइएको थियो । उद्घाटन समारोहमा सरकारी तथा स्थानीय निकायका प्रमुख, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । त्यसबेला भवनलाई अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र चन्द्रागिरि क्षेत्रमा बढ्दो चापलाई सामना गर्ने एउटा सक्षम संरचना भनेर व्याख्या गरिएको थियो ।
तर उद्घाटन भएको करिब एक महिनापछि, असोज २४ गते जेन–जेड आन्दोलनकै क्रममा यही भवन तोडफोड र आगजनीमा पर्यो । सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्ध भदौ २३ गतेबाट सुरु भएको जेन–जेड आन्दोलन राजधानीका विभिन्न भाग हुँदै चन्द्रागिरिसम्म पुगेको थियो । आन्दोलनका क्रममा प्रहरीले गरेको धरपकड र नियन्त्रणले असन्तुष्टि चुलिँदै गएको जनाउँदै प्रदर्शनकारीहरूले प्रहरी संरचना नै निशाना बनाए ।
तोडफोड र आगजनीमा परेका कागजात, फर्निचर तथा भौतिक संरचनाले भवन सञ्चालनमा समस्या खडा गरेको छ । प्रहरी निकायले यसलाई जनआन्दोलनले शान्ति सुरक्षालाई कमजोर बनाउन खोजेको आक्षेप लगाएको छ भने आन्दोलनकारीहरूले भने प्रहरीको दमन र निषेधात्मक व्यवहारको प्रतिक्रियामा यस्तो कदम चालेको बताइएका छन् ।
थानकोट प्रहरी बृत्त भवन उद्घाटन र तोडफोडबीचको छोटो समयावधिले मुलुकमा प्रहरी र जनआन्दोलनबीचको अविश्वास कति चर्किएको छ भन्ने देखाएको विश्लेषण भइरहेका छन् । सुरक्षा संस्थाको दीर्घकालीन योजनामा ठुलो लगानी गरेर बनेको संरचना यसरी आन्दोलनको निसाना बनेपछि आगामी दिनमा शान्ति सुरक्षाको मोडल र जनआन्दोलनबीचको सम्बन्धबारे गम्भीर बहसको आवश्यकता देखिएको छ ।