काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् । मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको हो ।
विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ ।
घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट प्रहरी निरीक्षक डवल बमको टोली परिचालन भएको थियो ।
प्रहरी निरीक्षक बमका अनुसार मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन् । बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान थालेको छ ।