१० चैत, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।
राप्ती गाउँपालिका–३ मसुरियामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीले दाङले जनाएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेको थियो ।करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका थिए ।