काठमाडौं, कात्तिक ३० । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीलाई आज प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्रकारहरुको एक प्रतिनिधि टोलीले भेटघाट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
टोलीले देशको वर्तमान सुरक्षा अवस्था, जनभावना, अपराध नियन्त्रण र प्रहरी–जनताको सहकार्यका विषयमा आईजिपीसँग विस्तृत छलफल गरेको हो।
पत्रकार टोलीले जेनजी आन्दोलनपछिको सुरक्षा संवेदनशीलता, सामाजिक व्यवस्था, अपराध नियन्त्रण, पारदर्शिता तथा जनविश्वास पुनःस्थापना सम्बन्धी सुझाव राख्दै आईजिपी कार्कीलाई आगामी कार्यकालमा दृढ, निष्पक्ष र जनमुखी नेतृत्व प्रदान गर्न आग्रह गरे। उनीहरुले प्रहरी संगठनले पारदर्शी र उत्तरदायी कार्यशैली अपनाउँदै जनतासँग प्रत्यक्ष सहकार्य अघि बढाउनुपर्नेमा जोड दिए।

संवादका क्रममा आईजिपी कार्कीले प्रहरी संगठन जनतामै केन्द्रित रहनुपर्ने उल्लेख गर्दै वक्तव्य दिए “नेपाल प्रहरी आम नेपाली जनताको प्रहरी हो। जनताको विश्वासमा निराश हुन दिनेछैनौं। दिन–रात खटेर शान्ति–सुरक्षा सुनिश्चित गर्छौं। सत्य सूचनाको आदर गर्दै निष्पक्ष सेवा दिन सबैको सहयोग अपेक्षा गर्दछु।”
उनका अनुसार, बदलिँदो परिस्थितिमा प्रहरीको दायित्व अझ चुनौतिको अवस्थामा पुगेको छ, जसलाई आधुनिक सुरक्षा व्यवस्थापन, समुदाय–सहकार्य र बलियो अपराध नियन्त्रणमार्फत प्रभावकारी रूपमा व्यवस्थापन गरिनेछ। आईजिपी कार्कीले पत्रकारितालाई समाज र शासन प्रणालीबीचको महत्त्वपूर्ण सेतु बताउँदै भने— “सत्य र जिम्मेवार पत्रकारिता प्रहरी–जनताको पुल हो। सबै मिलेर सुरक्षित, सभ्य र सहयोगी समाज निर्माण गरौं।”
भेटघाटको अन्त्यमा पत्रकार टोलीले आइजिपी कार्कीलाई जनतामुखी, पारदर्शी र परिणाममुखी नेतृत्वद्वारा देशको शान्ति–सुरक्षामा थप योगदान दिन शुभकामना व्यक्त गर्यो।
पत्रकारहरुले आवश्यक समयमा प्रहरी प्रशासनलाई निरन्तर सहयोग र सकारात्मक सहकार्य प्रदान गर्ने प्रतिबद्धता पनि जनाए।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त