• ट्रेण्डिङ :

नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण तालिम सम्पन्न

cnewsnepal

शुक्रबार, चैत्र ११ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


चैत्र १०, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा सञ्चालित प्रहरी हवल्दार / प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ तालिम महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यमा आज विहीबार आयोजित एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै तालिमका दौरान सिकेका व्यवसायिक ज्ञान सिपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्छ । यसका लागि प्रत्येक प्रहरी कर्मचारीहरूले आफूलाई अझै बढी जनमुखी, जनउत्तरदायी र व्यवसायिक भई सेवा प्रवाह गर्न आफूलाई तयार राख्न निर्देशन दिनुभयो ।
प्रहरीको व्यबहार सदैब शिष्ट, सभ्य र नागरिकमैत्री हुनुपर्ने कुरामा जोड दिदै परिबर्तित समय र परिस्थितिलाई मध्यनजर गर्दै हरेक सेवाग्राही तथा सडक प्रयोगकर्ताको मानव अधिकारको संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।
पाँच दिन कार्य अवधि रहेको तालिमको प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी निरिक्षक शंकर खड्काले आठ महिला सहित ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
उक्त अनुशिक्षणमा परीक्षार्थीहरूलाई प्रहरीले नागरिक तथा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार, नागरिकमैत्री व्यवहार र लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य जस्ता विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।
महाशाखाले ट्राफिक प्रहरीलाई उत्प्रेरणा तथा व्यवसायिक प्रकृत्तिका अनुशिक्षण कार्यक्रमहरू निरन्तर रूपमा प्रदान गरिरहेको छ ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृतहरु तथा अतिथि प्रशिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार