७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । १ बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुवँँरले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।
पाँचथर प्रमुख कुवँरका अनुसार हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको बताए ।
शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि पाँचथर सदरमुकाम अस्पताल लगिएको छ ।
मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी प्रमुख कुवँरले जानकारी दिए ।
घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।
अनुसन्धान टोली आउँदैछ
पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।